दुई समूहले बजार उचाल्दा अन्तिम समय नेप्से स्थिर

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार हुँदा बुधबार सेयर बजार स्थिर अवस्थामा रोकिएको छ । आइएमई जनरलको ४ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.०८ अङ्कले बढेको छ ।

नेप्सेमा आज कारोबार भएका १० समूहमध्ये ५ समूह ओरालो तथा ५ समूहमा सुधार आएको छ । जलविद्युत र जीवन बिमा समूहले बजार उचालेपछि अन्तिम समयमा आएर बजारले सकारात्मक अवस्थामा रोकिएको हो ।

जलविद्युत ३५.७७ अङ्कले तथा बिमा २३.६४ अङ्कले बढ्दा होटल ३७.२७ तथा निर्जीवन बिमा १०.६९ अङ्कले घटेको छ । नेप्सेमा आज १ सय ५६ कम्पनीका २ हजार ८ सय १७ कारोबारबाट ८ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भई २६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

साताका अघिल्ला दुई दिन बढेको सेयर बजार कारोबारको तेस्रो दिन मङ्गलबार भने ओरालो लागेको थियो । बुधबार सोल्टी होटलको सेयर मूल्य ५८.४६ प्रतिशतले बढ्दा सिटिजन्स बैङ्कको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।