पर्यटन क्षेत्रको इन्जिन निजीक्षेत्र हो

मैले सुरु गरेको कामलाई सरकारले पनि निरन्तरता दिएको छ । सरकारले २० लाख पर्यटक नेपाल भिœयाउने लक्ष्य राखेको छ । यो खुसीको कुरा हो । यो आवश्यक पनि थियो । देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन उद्योग विस्तार गर्नुपर्छ ।

लामो समयको राजनीतिक अस्थिरतापछि देशले पाँच वर्षका लागि स्थायी सरकार पाएको छ । राजनीतिक दलबाट निराश जनता यो सरकारले देशको समृद्धिका लागि केही गर्छ भन्नेमा छन् । नेपालभन्दा पछि विकास भएका अधिकांश देशको आर्थिक वृद्धिदर उच्च बिन्दुमा पुगिसकेको छ । तर नेपाल अहिले पनि बामे सर्दै छ ।

अहिले जति देश सम्पन्न भएका छन्, तिनीहरुको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन हो । उनीहरुले पर्यटन क्षेत्रको पूर्वाधार विकाससँगै प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उनीहरुको प्राथमिकतामा पनि पर्यटन परेको छ । नेपालले पनि अरु उद्योगधन्दा सँगसँगै पर्यटन उद्योगलाई विशेष रुपमा अघि बढाउँदै लैजानुपर्छ ।

नेपालमा पर्यटकलाई आकर्षित गर्न राष्ट्रिय कार्यक्रमको आवश्यकता महसुस गरेर सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । विषेशगरी बाह्य पर्यकटलाई लक्ष्य गरी यस्ता कार्यक्रम सार्वजनिक भएको पाइन्छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भइरहेको छ । केही महिनाभित्रै अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिँदै छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माणाधीन विमानस्थल सञ्चालनमा आएपछि धेरै बौद्ध धर्मावलम्बी सीधै त्यहाँ जान सक्छन् ।

पर्यटकीय नगरी पोखरामा पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । बाराको निजगढमा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तयारी छ । यसरी हेर्दा पर्यटकीय पूर्वाधार निर्माणले तीव्र्रता पाएको देखिन्छ । यी संरचनाले नेपालमा पर्यटक भित्र्याउन ठूलो टेवा पुग्ने देखिन्छ । यस्तै नेपाली राष्ट्रिय विमान ध्वजावाहक दुईओटा भित्रिएका छन्, जसले पर्यटकलाई विभिन्न देशमा गएर सेवा दिन सक्छन् ।

म पर्यटनमन्त्री भएकै बेला सन् २०१७ लाई आन्तरिक पर्यटकका लागि घुमफिर वर्षका रुपमा मनाउने र सन् २०१८ लाई अन्तर्राष्ट्रिय वर्षका रुपमा मनाउने घोषणा गरेको थिएँ । आन्तरिक भ्रमण वर्षका लागि वर्किङ ग्रुप बनाएर काम पनि अगाडि बढिसकेको थियो । र सन् २०१८ का लागि आवश्यक तयारी गरिरहेको थिएँ । राजनीतिक स्थायित्व नभएका कारण घोषित कार्यक्रम सञ्चालन गर्न पाइनँ । अहिले त्यही कार्यक्रमलाई नेपाल सरकारले २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने तयारी गरेको छ ।

मैले सुरु गरेको कामलाई सरकारले पनि निरन्तरता दिएको छ । सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । यो खुसीको कुरा हो । यो आवश्यक पनि थियो । देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन उद्योग विस्तार गर्नुपर्छ ।

म मन्त्री भएर आएको बेला भूकम्पले अधिकांश पर्यटकीय स्थल थिलथिलो बनाएको थियो । नाकाबन्दीले पर्यटकीय क्षेत्रमा प्रत्यक्ष रुपमा असर पारेको थियो । र पर्यटकको सङ्ख्या पनि घटेको थियो । भूकम्पकै कारण अहिले पनि एभरेस्ट होटल सञ्चालनमा आउन सकेको छैन । भूकम्प र नाकाबन्दीबाट आक्रान्त नेपालमा पर्यटक भित्र्याउन निकै चुनौती थियो ।

नेपालमा पहिलो कृषि, दोस्रो जलस्रोत, तेस्रो पर्यटन, चौथो उद्योग र पाँचांैमा सेवा क्षेत्रले अर्थतन्त्रमा योगदान पु¥याइरहेका छन् । मुलुकमा यसैगरी मात्रै समृद्धि प्राप्त गर्न सकिँदैन । नेपालको ७० वर्षको इतिहासमा कृषिलाई महङ्खव दिँदादिँदै पनि यो क्षेत्र खुम्चिएको छ । र खाद्यान्नमा आत्मनिर्भर छैनौं । खाद्यान्न पनि बाहिरी देशबाट ल्याउनुपरेको छ । त्यसैले समृद्धिका लागि सरकारले नयाँ ढङ्गबाट सोच्नुपर्छ । र पर्यटनलाई अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ नै सन् २०१८ लाई अन्तर्राष्ट्रिय भ्रमण वर्षका रुपमा मनाउने सरकारको तयारी थियो ।

भूकम्प र नाकाबन्दीबाट थिलथिलो बनेको नेपालको पर्यटन क्षेत्रलाई त्यसबाट माथि ल्याउने काम चुनौतीपूर्ण थियो । त्यही चुनौतीलाई आत्मासात् गर्दै यो कार्यक्रम ल्याइएको हो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन त्यति ठूलो चुनौती छैन । किनकि नेपालमा विश्वमै नभएका पर्यटकीय स्थल छन् । पहिलो, हामीसँग सगरमाथा छ । दोस्रो, बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी छ । तेस्रो हिन्दू दर्शन उद्गमस्थल यहीँ छ । चौथो, एक सय २५ जनजाति र एक सय २३ भाषाभाषीको अनौपचारिक सांस्कृतिक विश्वविद्यालय नेपालमै छ । र, पाँचौं जैविक विविधता पनि नेपालमै प्रशस्त छ । यहाँ ७२ मिटरदेखि ८ हजार ८ सय ४८ मिटरको धरातल र भूबनावट छ । यस्तो भौगोलिक, सांस्कृतिक बनावट विश्वमा कतै पनि पाइँदैन ।

नेपालमा भएका पर्यटकीय स्थललाई प्रवद्र्धन गर्न सक्ने हो भने नेपालमा २० लाख पर्यटक भित्र्याउन केही चुनौती छैन । यस्तै धार्मिक र साहसिक पर्यटनलाई पनि जोड दिन सकिन्छ । त्यसैगरी जैविक विविधताको पर्यटन र अनौपचारिक सांस्कृतिक विशेषताको पर्यटनका रुपमा नेपालमा विकास गर्न सकिन्छ । लोन्ली प्लानेटले सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वका घुम्नलायक देशमध्ये नेपाल पाँचौं स्थानमा छ । यसलाई मार्केटिङ गर्न सके मात्रै पनि सरकारले राखेको लक्ष्य प्राप्त हुन्छ ।

तर त्यसका लागि विश्वव्यापी रुपमा प्रचारप्रसार तीव्र पार्नुपर्छ । विशेषगरी दुई छिमेकी मुलुक भारत र चीनलाई लक्ष्य गरी पर्यटकको आगमनको स्थिति बुझेर त्यही किसिमका कार्यक्रम बनाउन आवश्यक छ । दुई ओटा विशाल जनसङ्ख्या भएका मुलुक, जहाँ विश्वव्यापी रुपमा भ्रमण गर्न सक्ने क्षमता नै भारत र चीनका मानिस राख्न सक्छन् । ती मान्छेहरुलाई आकर्षित गर्न सके २० लाख पर्यटक भित्र्याउन कुनै महङ्खवाकाङ्क्षी योजना बनाउनुपर्दैन । त्यो सामान्य कार्यक्रम हो ।

अहिले भइरहेको पर्यटक आगमन दोब्बर बनाउनु न हो । त्यसभन्दा माथिको लक्ष्य होइन ? अहिले पनि १० देखि १२ लाखसम्म पर्यटक भित्रिएकै छन् । त्यसले गर्दा त्यो सामान्य विषय भए पनि प्रचारप्रसार र व्यवस्थापन गर्न ढिलाइ भएको छ । मन्त्रालयबाट भ्रमण वर्षका लागि गर्ने काममा केही कमजोरी भएको पाएको छु, त्यसलाई सुधार गरी लैजान आवश्यक देखिन्छ ।

मन्त्रालयले पर्यटन बोर्ड र निजीक्षेत्रलाई व्यवस्थित ढङ्गबाट समन्वय गरेर लैजान सक्यो भने २० लाख पर्यटक भित्र्याउन चुनौती हुँदैन । पर्यटक भित्र्याउन सबैभन्दा बढी निजीक्षेत्रकै भूमिका बढी हुने भएकाले उनीसँग सहकार्य र समन्वय आवश्यक छ । २०१६ मा पर्यटन रणनीति बनाउँदा नै २०२६ भित्रमा ३० लाख पर्यटक नेपाल भित्र्याउन सकिन्छ भन्ने योजना आफैंले बनाएको हुँ । त्यो सम्भव पनि थियो । त्यही योजनाअनुसारका कार्यक्रम पनि बनाएको छु । त्यसकारण सरकारले ढिला नगरी तीव्र रुपमा काम सुरु गर्न आवश्यक छ ।

मन्त्रालयले सबै क्षेत्रसँग समन्वय गर्न आवश्यक छ । मेरो मात्र पेवा हो भनेर बस्यो भने पर्यटनको क्षेत्रमा केही प्रगति हुँदैन । पर्यटन भनेको आम जनता सानो पुँजीदेखि ठूला पुँजी भएकाहरु संलग्न हुने क्षेत्र हो । त्यसैले यसलाई फराकिलो बनाउनु आवश्यक छ । चीनमा बुद्धिस्ट र भारतमा हिन्दु छन् । चीनमा झन्डै डेढ अर्ब जनसङ्ख्या छ । र भारतमा १ अर्ब जनसङ्ख्या छ । ती मुलुकका २ देखि ३ प्रतिशत जनतालाई मात्र नेपाल भित्र्याउन सकियो भने पनि हाल सरकारले राखेको लक्ष्य सहजै पुर्याउन सकिन्छ । तेस्रो मुलुकको पनि छुट्टै विशेषता छ ।

पूर्वाधारका हिसाबमा अहिले आउने पर्यटकको सङ्ख्यालाई हेरी आवश्यक पूर्वधार बनाउन सरकार लाग्नुपर्छ । होटलहरु पर्याप्त मात्रामा छन् । लुम्बिनीमा पनि होटल धेरै खुलेका छन् । काठमाडौंमा पाँचतारे होटल खुल्ने क्रम जारी छ । ती पर्यटक एकै पटक आउने होइनन् । एक रातमा पाँच लाख पर्यटक राख्न सक्ने क्षमताका होटल छन् । सरकारले होम स्टेलाई पनि प्राथमिकतामा राखेका कारण धेरै ठाउँमा होम स्टे पनि सञ्चालनमा आएका छन् । पहिला नेपालमा पर्यटक आउनुप¥यो, उनीहरु आउँदा बस्न पर्याप्त ठाउँ छन् । बाटो छैन, हवाई ट्राफिक जाम बढेका कारण नेपालमा पर्यटक आउन सक्दैनन् भन्नु गलत हो । भएका पर्यटकीय स्थलको प्रचारप्रसार मात्र खाँचो हो । यहाँको पर्यटकीय स्थलको प्रभावकारी रुपमा प्रचार गर्न सके उनीहरु त्यत्तिकै नेपाल आउँछन् ।

सरकारले यातायात, सुरक्षा एवम् सञ्चारको राम्रो व्यवस्था गर्नुपर्छ । सरकारले काम थालेको धेरै समय भएको छैन । त्यसैले अहिले धेरै नकरात्मक विषयको चर्चा गरेर मात्र हुँदैन । तर पर्यटकका हिसाबमा हामीले सकारात्मक प्रचार गर्नु भने आवश्यक छ । त्यसका लागि विश्वव्यापी रुपमा पहलकदमी चाल्नुपर्छ ।

निजीक्षेत्रलाई आवश्यक पूर्वाधार बनाउन आह्वान गर्नुपर्छ । आवश्यक पर्यो भने सफ्ट लोनको पनि व्यवस्था गर्न सक्नुपर्छ । किनकि पर्यटन क्षेत्रको इन्जिन निजीक्षेत्र नै हो ।

क्यापिटल म्यागजिन