११ महिनामै १० लाख पर्यटक नेपाल भित्रिए, एक वर्षमा दोब्बर होला ?

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ११ महिनाको तथ्याङ्कले पर्यटन क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले एक वर्ष नपुग्दै विदेशी पर्यटकको सङ्ख्या १० लाख नाघ्नुलाई कोशेढुङ्गाका रूपमा लिएको प्रतिक्रिया दिए ।

काठमाडौं : नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार २०१८ मा दश लाख १ हजार ९ सय ३० पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या गएको वर्षभन्दा १७ प्रतिशतले बढी हो । यो सङ्ख्या हवाई जहाजबाट आएकाहरुको मात्र हो ।

नेपाल आउने पर्यटकहरुमा सबैभन्दा बढी भारतीय छन् । केही समयअघि मात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकीय एवम् धार्मिकस्थल मुस्ताङको भ्रमण गरेका थिए । उनको भ्रमणपछि धेरै भारतीय तीर्थयात्री मुस्ताङ पुगेको तथ्याङ्क छ । यस्तै पशुपतिनाथ दर्शनका लागि पनि धेरै भारतीय हवाई मार्ग र सडक मार्ग हुँदै आउने गरेका छन् । भारतीय पर्यटकलाई नै लक्ष्य गरी बुद्ध एयरले काठमाडौंबाट बनारसमा सीधा उडान भर्दै आएको छ ।

भारतबाट ११ महिनाको अवधिमा १ लाख ७८ हजार १३० पर्यटक नेपाल आएका छन् । गत वर्ष १ लाख ४४ हजार ३७९ पर्यटक आएका थिए । यस्तै चीनबाट यस वर्ष १ लाख ३४ हजार ३६२ पर्यटक नेपाल भित्रिएका छन् । गत वर्ष ९३ हजार ६५४ जना आएका थिए । अमेरिकाबाट गत वर्षको यस अवधिमा ७३ हजार ६५० पर्यटक नेपाल आएकोमा यस वर्ष ८२ हजार ८७० पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल आउने बेलायती पर्यटक पनि बढेका छन् । गतवर्ष ५० हजार ६५२ पर्यटक नेपाल आएकामा यस वर्ष ५७ हजार ५५५ बेलायती पर्यकटले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । त्यस्तै सबैभन्दा धेरै पर्यटक नेपाल आउने अर्काे मुलुक हो जर्मनी । जर्मनीबाट यस वर्षको हालसम्म ३४ हजार ४७९ पर्यटक नेपाल आएका छन् । गत वर्ष यस अवधिमा २८ हजार ७०२ जर्मन नागरिकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ११ महिनाको तथ्याङ्कले पर्यटन क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले एक वर्ष नपुग्दै विदेशी पर्यटकको सङ्ख्या १० लाख नाघ्नुलाई कोशेढुङ्गाका रूपमा लिएको प्रतिक्रिया दिए । उनले योभन्दा धेरै परिमाणको वृद्धि दर लक्ष्य गरी अगाडि बढ्यो भने नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य अवश्य पूरा हुने बताए ।

नेपालले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने तयारीका साथ विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । पर्यटकको अहिलेको आगमन हेर्दा सहज रुपमा २० लाख पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी आङपेम्बा शेर्पाको दाबी छ ।