मनै लोभ्याउने मोहरेडाँडा

अन्नपूर्ण, धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रमुख गन्तव्य मोहरेडाँडामा पुग्ने पर्यटकलाई खानेबस्ने सुविधासहितको २० जना क्षमताको सामुदायिक लज सञ्चालनमा छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्छ— मोहरेडाँडा । समुद्री सतहदेखि तीन हजार तीन सय मिटर उचाइमा रहेको मोहरेडाँडाबाट हिमशृङ्खला, सूर्याेदय र पहाडी भूगोलको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । अन्नपूर्ण, धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको प्रमुख गन्तव्य मोहरेडाँडामा पुग्ने पर्यटकलाई खानेबस्ने सुविधासहितको २० जना क्षमताको सामुदायिक लज सञ्चालनमा छ ।

 

सामाजिक अभियन्ता महावीर पुनको पहलमा यहाँ इन्टरनेट सुविधासमेत उपलब्ध छ । मोहरेडाँडाबाट सिस्ने, गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु रेन्जका २० भन्दा बढी हिमशृङ्खला, सूर्याेदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । फेवाताल, मिर्मीमा कालिगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बागलुङ, तनहुँ, गोरखा, कास्की, गुल्मीका अग्ला पहाडी टाकुरा पनि देख्न पाउनु मोहरेडाँडाको अर्काे विशेषता हो ।

घना गुरासे जङ्गलबीच रहेको मोहरेडाँडा आसपासका क्षेत्रमा पशुगोठ, जडिबुटी, बोटबिरुवाको अवलोकनसँगै चराचुरुङ्गीका चिरबिर आवाज सुन्दै यात्रा गर्न सकिन्छ । म्याग्दीको नागी, घोडेपानी, कास्कीको उल्लेरी र पर्वतको लेकफाँट भएर मोहरेडाँडा पुग्न सकिन्छ ।