शनिबारबाट नेपालले मन्ट्रियल महासन्धि लागू गर्ने, बिमा रकमको असमानता हट्यो

अन्तर्राष्ट्रिय हवाई यात्राको जहाज दुघर्टना भएर ज्यान जाँदा विदेशी भए एक लाख ६० हजार र नेपाली भए २० हजार अमेरिकी डलर मात्र बिमा कम्पनीबाट आफन्तले क्षतिपूर्ति पाउँछन् ।

काठमाडौं ः नेपालले पनि भोलि (शनिबार)बाट मन्ट्रियल महासन्धि लागू गर्ने भएको छ । हवाई उड्डयन क्षेत्रमा भएको नवीनतम विकासलाई सम्बोधन गर्दै तथा पहिलेका सहमतिबाट पाठ सिक्दै नीति नियमलाई आधुनिकीकरण गर्न यो महासन्धि लागू गर्न लागिएको जनाएको छ ।

यो महासन्धि लागू भएपछि अन्तर्राष्ट्रिय हवाई दुघर्टनामा ज्यान गुमाउने नेपाली र विदेशी यात्रुका आफन्तले पाउने बिमा रकमको असमानता पनि हटेको छ । अन्तर्राष्ट्रिय हवाई यात्राको जहाज दुघर्टना भएर ज्यान जाँदा विदेशी भए एक लाख ६० हजार र नेपाली भए २० हजार अमेरिकी डलर मात्र बिमा कम्पनीबाट आफन्तले क्षतिपूर्ति पाउँछन् । १९ वर्षअघि मन्ट्रियल महासन्धि आए पनि नेपालले ६३ वर्षदेखि लागू वार्सा अभिसन्धि नै कार्यान्वयन गर्दैै आएको थियो । यसले गर्दा हवाई दुघर्टनामा ज्यान गुमाएमा मन्ट्रियल महासन्धि लागू भएका देशका यात्री र वार्सा अभिसन्धि लागू भएका देशका यात्रुबीच बिमामा असमानता कायम थियो ।

यो महासन्धि लागू भएपछि जहाजमा चढ्दा, उत्रिँदा वा सवार रहँदा कुनै यात्रीको मृत्यु भएमा वा शारीरिक चोटपटक लागेमा वा कुनै पनि किसिमको क्षति भएको खण्डमा वाहक जिम्मेवार ठहरिने प्रावधान छ । यी प्रावधानका अतिरिक्त सोभन्दा भिन्न यस महासन्धिले दुई तहको दायित्व निर्धारण गर्ने व्यवस्था स्थापित गर्न खोेजेको छ ।

हवाई यात्राका क्रममा कुनै यात्रुको मृत्यु भएमा वा चोटपटक लागेको तथ्य प्रमाणित गरेमा क्षतिपूर्तिको एक लाख एस्.डी.आर. बराबरसम्मको रकम दाबी गरी क्षतिपूर्ति प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि दाबीकर्ताले वाहकको लापरवाही प्रमाणित गर्नुपर्ने आवश्यकता नरहने व्यवस्था गरिएको छ । यसभन्दा पहिले हेग प्रोटोकलले १६ हजार ६ सय एस.डी.आर. निर्धारण गरेको थियो ।

यो सन्धि लागू भएपछि ब्यागेज वा कार्गोको हकमा समेत कठोर दायित्वको सिद्धान्तलाई अपनाएर एक हजार एस.डी.आर.लाई अधिकतम दायित्वको रुपमा तोकिएको छ । यात्रीको ज्यानको सन्दर्भमा व्यवस्था गरिएको दुई तहको दायित्व ब्यागेज र कार्गोको हकमा समेत लागू हुने व्यवस्था गरिएको छ ।

सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले महासन्धि लागू भएपछि नेपाली हवाई यात्रुहरुलाई फाइदा पुग्ने बताए । उनले यो सन्धि आन्तरिक उडानमा भने तत्काल लागू नहुने जानकारी दिए । त्यसका लागि एयरलाइन्सहरुसँग आवश्यक छलफल भइरहेको उनको भनाइ छ ।