एनएसीको टिकट अब अनलाइन बुकिङ गर्न सकिने

एनएसीले टिकट व्यवस्थित गर्न अनलाइन टिकट बुकिङ खुला गरिएको जनाएको छ । यसअघि एनएसीले अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकटको व्यवस्था गरिसकेको छ ।

काठमाडौं : नेपाल एयरलाइन्स(एनएसी)ले आन्तरिक उडानमा पनि अनलाइन टिकटको व्यवस्था गरेको छ । आइतबारबाटै लागू हुने गरी निगमले अनलाइन टिकट बुकिङको व्यवस्था मिलाएको एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए ।

एनएसीले टिकट व्यवस्थित गर्न अनलाइन टिकट बुकिङ खुला गरिएको जनाएको छ । यसअघि एनएसीले अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकटको व्यवस्था गरिसकेको छ ।

टिकट काट्नकै लागि विभिन्न ठाउँमा धाउनु पर्ने अवस्थालाई हटाउन एनएसीले अनलाइन बुकिङ सुरु गरेको जानकारी दिएको छ । टिकट काट्नका लागि विभिन्न एजेन्सी जान नपर्ने गरी आफैंले काट्न सक्ने व्यवस्था गरिएको बताइएको छ ।

पछिल्लो समय आन्तरिक उडानमा पनि आक्रामक बन्दै गएको एनएनसीले आगामी माघभित्र हाल ग्राउन्डेड भएका सम्पूर्ण जहाज मर्मत गरी सञ्चालनमा ल्याइसक्ने योजना बनाएको छ । एनएसीसँग आन्तरिक उडानका लागि ९ ओटा जहाज छन् । तीमध्ये ३ ओटा जहाज ग्राउन्डेड छन् भने ३ ओटाको मर्मत भइरहेको छ । एनएसीले हाल २२ ओटा सेक्टरमा उडान भर्दै आएको छ । उता निर्धारित समयमा उडान नभर्ने समस्या भएकै कारण यात्रुहरुको एनएसीप्रति विश्वास घटिरहेको बेला हाल निर्धारित समयमै उडान हुन थालेको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एनएसीको टिकट कसैलाई पनि निःशुल्क नदिन निर्देशन जारी गरेका छन् । उनले आफूहरु मन्त्री भएर आएपछि हालसम्म निःशुल्क टिकट नलिएको र अरु कसैलाई पनि निःशुल्क टिकट नदिन निर्देशन दिएको बताए । सरकारी स्वामित्वमा रहेकै कारण धेरै सरकारी व्यक्तिले भनसुनका आधारमा निःशुल्क टिकट लिने गरेको खबरहरु सार्वजनिक भइरहेका बेला मन्त्री अधिकारीले यसमा कडाइ गरेका हुन् ।