बैंक तथा वित्त गरी ४ कम्पनीको  ९८ लाख कित्ता सेयर लिलामीमा, हेर्नुहोस् कसको कति (सूचीसहित)

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क, लुम्बिनी विकास बैङ्क, जेबिल्स फाइनान्स लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक, साधारण र संस्थापक हकप्रद गरी ९७ लाख ७६ हजार ६३३ कित्ता सेयर लिलामी गर्न लागेका हुन् ।

काठमाडौं : विभिन्न ४ ओटा वित्तीय संस्थाले संस्थापक र सर्वसाधारण गरी झन्डै १ करोड कित्ता सेयर लिलामी गर्न लागेका छन् । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्क, लुम्बिनी विकास बैङ्क, जेबिल्स फाइनान्स लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक, साधारण र संस्थापक हकप्रद गरी ९७ लाख ७६ हजार ६३३ कित्ता सेयर लिलामी गर्न लागेका हुन् ।

एनसीसी बैङ्कले संस्थापक र सर्वसाधारण समूह हकप्रद गरी ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । बैङ्कले हकप्रद निष्कासन गर्दा एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ र लगानीकर्ता निर्मल प्रधानले खरिद नगरेपछि ६५ लाख १६ हजार ७९३ र सर्वसाधारणको १३ लाख ९४ हजार १९८ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ । सनराइजका अनुसार हकप्रदका लागि बोलपत्र पेस गर्ने मिति पुस २० गते शुक्रबार तोकिएको छ । बैङ्कले चुक्ता पुँजी बढाउन भदौ ४ गतेदेखि असोज २२ गतेसम्म हकप्रद बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापकतर्फ ६५ लाख १६ हजार ७ सय ६५ कित्ता तथा सर्वसाधारणतर्फ १३ लाख ९४ हजार १ सय ९८ कित्ता सेयरका लागि आवेदन नपरेपछि लिलामी गर्न लागेको हो ।

यस्तै लुम्बिनीले ३ लाख ४४ हजार ९४६ कित्ता संस्थापक हकप्रद सेयर लिलामी गर्न लागेको हो । बैङ्कले चुक्ता पुँजी बढाउन हकप्रद निष्कासन गरेकोमा आवेदन पर्न बाँकी सेयर लिलामी गर्न लागेको निष्कासन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद खरिदका लागि बोलपत्र पेस गर्ने अन्तिम दिन पुस २५ गते तोकिएको भिबोरले जनाएको छ ।

छिमेक लघुवित्त वित्तीय संस्थाको नाममा रहेको ५ लाख २३ हजार ६६ कित्ता संस्थापक सेयर लिलामी हुने भएको छ । छिमेक समाज सेवा संस्थाले लघुवित्तमा रहेको संस्थापक सेयर लिलामी गर्न लागेको हो । बोलपत्र पेस गर्ने अन्तिम दिन पुस ११ गतेलाई तोकिएको बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल लिमिटेडले जनाएको छ ।

जेबिल्स फाइनान्सले पनि संस्थापक तथा सर्वसाधारण समूहको ९ लाख ९६ हजार ६२८ कित्ता हकप्रद सेयर लिलाम गर्न लागेको छ । यसअनुसार ६ लाख ६५ हजार ९५५ कित्ता संस्थापक र ३ लाख ३१ हजार ६७२ कित्ता साधारण सेयर रहेको छ । हकप्रद सेयर खरिदका लागि पुस १७ गते बोलपत्र पेस गर्ने अन्तिम मिति तोकिएको छ ।