तारागाउँ रिजेन्सी होटल्सको नाफा २९० प्रतिशतले बढ्यो, असोजसम्म ३ करोड ९० लाख

पर्यटन आगमनमा भएको वृद्धि, प्रभावकारी बजार प्रवद्र्धनले बिक्री बढेपछि नाफा उकालो लागेको होटलले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा २९० प्रतिशत बढाएको छ । होटलले चालु आर्थिक वर्षको असोजसम्म ३ करोड ९० लाख ८६ हजार रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।

होटलले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक वित्तीय विवरणमा गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा नाफ झण्डै २ करोड ९० लाख रुपैयाँ बढाएको उल्लेख गरेको छ ।

पर्यटन आगमनमा भएको वृद्धि, प्रभावकारी बजार प्रवद्र्धनले बिक्री बढेपछि नाफा उकालो लागेको होटलले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

३ महिनामा होटलले आम्दानी ६ करोड ५५ लाख रुपैयाँ बढाएर २६ करोड ३१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

होटलको प्रतिसेयर आम्दानी (ईपीएस) २ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ रहेको जानकारी दिएको छ । संचित कोषको आकार बढेर ४८ करोड रुपैयाँ पुगेको छ ।