युनिभर्सल पावर कम्पनीको आईपीओ पुस १५ देखि, ५ लाख कित्तासम्म भर्न पाइने

स्थानियबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई ७५ करोड ६१ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ ।

काठमाडौं । निजी लगानीमा स्थापना भएको युनिभर्सल पावर कम्पनी लिमिटेडले पुस १५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ करोड रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

आईपीओ निष्कासन पुस २९ गते बन्द हुने छ । न्युनतम ५० देखि अधिकतम ५ लाख कित्तासम्म आईपीओ भर्न पाइने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक र विगु गाउँपालिकाका स्थानीयबासिन्दाले आईपीओ खरिदका लागि आवेदन दिन पाउने भएका छन् । इक्रा नेपाल लिमिटेडले युनिभर्सललाई आईपीओ ग्रेड ४ दिएको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने छ । स्थानियबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई ७५ करोड ६१ लाख २६ हजार रुपैयाँ बराबरको ७५ लाख ६१ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ । ५४ प्रतिशत संस्थापक र ४६ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।

युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको लागत २ अर्ब ४ करोड रुपैया छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ । सीईडीबी माउ कम्पनी हो । यस्तै यही समूहअन्र्तगतको राधी विद्युत कम्पनी लिमिटेडले पनि हालै सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।