मन्त्रालयमा आयोजित समीक्षा बैठकमा सबै निकायका प्रतिनिधिहरुले आफ्नो कार्यालयको कामको प्रगतिका विषयमा जानकारी गराएका थिए । पर्यटन मन्त्री अधिकारीले बजेट छिटो ल्याउँदा पनि खर्च गर्ने र काम गर्ने प्रवृत्ति पुरानै शैलीको भएको भन्दै कर्मचारीहरुप्रति आक्रोश समेत पोखेका थिए ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको चौमासिक काम सन्तोषजनक भएको बताएका छन् । अघिल्ला वर्षभन्दा यस वर्षको काम धेरै सन्तोषजनक देखिएको बताउँदै उनले अझै प्रगति गर्न आवश्यक रहेको बताए ।
मन्त्रालयमा आयोजित समीक्षा बैठकमा सबै निकायका प्रतिनिधिहरुले आफ्नो कार्यालयको कामको प्रगतिका विषयमा जानकारी गराएका थिए । पर्यटन मन्त्री अधिकारीले बजेट छिटो ल्याउँदा पनि खर्च गर्ने र काम गर्ने प्रवृत्ति पुरानै शैलीको भएको भन्दै कर्मचारीहरुप्रति आक्रोश समेत पोखेका थिए । आर्थिक वर्षको अन्तिममा हतारहतारमा बजेट सिध्याउन मात्र गरिने कामलाई रोक्न आफूहरु लागिपरेको बताउँदै त्यसका लागि कर्मचारीहरुले पनि पूर्ण रुपमा सहयोग गर्न आवश्यक रहेको बताए ।
राष्ट्रिय गौरवका आयोजनाहरुको काम सन्तोषजनक भएको पाइए पनि तालिकाअनुसार नभएको मन्त्री अधिकारीको भनाइ छ । प्रभावकारी योजना नभएकै कारण पहिलो चौमासिकमा पुजिँगत खर्च नबढेको बताए । हाल ९ प्रतिशत मात्र पुजिँगत खर्च भएको छ । पहिलो चौमासिकमा विभिन्न कार्यालयले गर्नुपर्ने काम तत्काल नगरेका कारण बजेट खर्च नभएको भन्दै आउँदो चौमासिकमा त्यस्तो हुन नदिन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् ।
भ्रमण वर्ष नजिकिइरहेका बेला नेपाल पर्यटन बोर्डले प्रभावकारी रुपमा प्रचार प्रसार नगरेको बताएका छन् । प्रचार प्रसारलाई तीव्रता दिन पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई निर्देशन दिएका छन् ।
यस्तै मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पनि पर्यटन बोर्डको काम प्रभावकारी नदेखिएको बताए । भ्रमण वर्ष २०२० नजिकिइरहेका बेला प्रचारमा आक्रामक नभएको उनको भनाइ छ । पर्यटन बोर्डको कार्ययोजनाअनुसार काम गर्न प्रमुख कार्यकारी अधिकृत जोशीलाई पर्यटन सचिव देवकोटालेसमेत निर्देशन दिएका छन् ।