काठमाडौंको दैनिक जाम र धूलोधुवाँकै कारण नेपाल आएका पर्यटकले बसाइ छोट्याउँदै गएको जानकारी दिँदै त्यसका लागि सम्बन्धित कार्यालयहरुसँग छलफल गर्न आवश्यक रहेको सचिव देवकोटाको भनाइ छ ।
काठमाडौं : सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटन क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रुपमा काठमाडौंको धूलो र जाम भएको बताएका छन् । उनले पर्यटन क्षेत्रमा जति नै राम्रो काम गर्न खोजे पनि धूलो र जामलाई नियन्त्रण गर्न सकिएन भने सरकारले सोचे जस्तो प्रगति नहुने धारणा व्यक्त गरेका हुन् ।
मन्त्रालयको चौमासिक समीक्षालाई सम्बोधन गर्दै सचिव देवकोटाले पर्यटन मन्त्री रवीन्द्र अधिकारी, योजना आयोगका सदस्य, अर्थ मन्त्रालयका प्रतिनिधिहरु समक्ष यस विषयमा गम्भीर हुन आवश्यक रहेको बताए । काठमाडौंको दैनिक जाम र धूलोधुवाँकै कारण नेपाल आएका पर्यटकले बसाइ छोट्याउँदै गएको जानकारी दिँदै त्यसका लागि सम्बन्धित कार्यालयहरुसँग छलफल गर्न आवश्यक रहेको सचिव देवकोटाको भनाइ छ ।
उनले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी तयारीका साथ कार्यक्रम सञ्चालन भइरहेका बेला धूलो र जामलाई नियन्त्रण गर्न सकिएन भने सोचअनुसारको काम हुन नसक्ने जानकारी दिए । योजना आयोगलाई धूलो र जाम नियन्त्रणका लागि आवश्यक योजना बनाउन र सम्बन्धित निकायलाई समन्वय गर्ने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।
‘पर्यटन मन्त्रालयले मात्र चाहेर धूलो र जाम नियन्त्रण गर्न सक्दैन,’ पर्यटन सचिव देवकोटाले भने, ‘यसका लागि सबैको सहयोग आवश्यक पर्छ ।’ उनले राजधानी भित्रिने नाकाहरुमा धेरै जाम हुने भएका कारण पर्यटकीय स्थलमा जाने पर्यटक समस्यामा पर्ने गरेको बताए ।