अनशन र ब्याजदरको प्रभावमा सेयर बजार, सातामा १७ अङ्क बढ्यो

लगानीकर्ताले पुँजी बजारको सुधारको माग राख्दै सोमबारदेखि आमरण अनशन बसेका थिए । उनीहरु पुँजी बजार धरासायी भएको भन्दै अनशन बसेको साता नेप्सेले एकाएक गति समातेको हो ।

काठमाडाैं : सातामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.१९ अङ्कले बढेको छ । साताको पहिलो दिन आइतबार ११४८ अङ्कबाट सुरु भएको नेप्से परिसूचक बिहीबार ११६५ अङ्क कायम भएको छ । साताका दुई दिन ओरालो लागेको नेप्से तीन दिन बढ्दा नेप्सेमा सुधार आएको हो ।

लगानीकर्ताले पुँजी बजारको सुधारको माग राख्दै सोमबारदेखि आमरण अनशन बसेका थिए । उनीहरु पुँजी बजार धरासायी भएको भन्दै अनशन बसेको साता नेप्सेले एकाएक गति समातेको हो । आइतबार १८ अङ्क तथा सोमबार १५ अङ्कले बढेको नेप्से तेस्रो दिन मङ्गलबार १४ अङ्कले र बुधबार ५ अङ्कले घटेको थियो । यस्तै बिहीबार ३ अङ्कले बढेर बन्द भएको थियो ।

अनशनकारीले सोमबार लगानीकर्तालाई कारोबार नगर्न आह्वान गर्दै कारोबार गर्नेले भईपरेका दुर्घटनालाई स्वयमले बेहोर्नु पर्ने बताएका थिए । तर पनि सो दिन ४२ करोडको कारोबार भएको थियो ।

आइतबार र सोमबार लगातार बढ्दै नेप्से यस साता ११८२ अङ्कसम्म पुगेको थियो । तर, लगत्तै मङ्गलबार र बुधबार ओरालो लाग्दै ११६५ अङ्कमा रोकिएको हो ।