सभाले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । एचआईडीसीएलले पुँजी दोब्बर बढाएर २० अर्ब रुपैयाँ पुर्याउन १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
काठमाडौं । सार्वजनिक निजी साझेदारीमा सञ्चालित हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको आउँदो पुस ३० गते हुने सातौं वार्षिक साधारणसभाले १ अर्ब रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । यस्तै सभाले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ । एचआईडीसीएलले पुँजी दोब्बर बढाएर २० अर्ब रुपैयाँ पुर्याउन १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको पुँजी १० अर्ब रुपैयाँ छ । हकप्रदपछि एचआईडीसीएलले पुँजी २० अर्ब रुपैयाँ पुग्ने छ । यसअघि एचआईडीसीएलले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा सरकारको ८० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । थप १० अर्ब रुपैयाँमध्ये ५ अर्ब रुपैयाँ सरकारले एचआईडीसीएललाई दिइसकेको छ । जसअनुसार अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिंचाइ मन्त्रालयले १ अर्ब, कानुन तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यलयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन् ।
यस्तै कर्मचारी सञ्चय कोषले १ अर्ब, नागरिक लगानी कोषले १ अर्ब र राष्ट्रिय बिमा संस्थाले १ अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । बाँकी २ अर्ब रुपैयाँ हकप्रदबाट लगानी जुटाउन लागेको हो ।
पुँजीगत आधार बलियो बनाउन र थप आयोजना बनाउन हकप्रद सेयर निष्कासन गर्न लागेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनले केही वर्षभित्र कम्पनीको पुँजी बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने जानकारी दिए ।
५ वर्षे योजना कार्यन्वयनका लागि कम्पनीले लगानी जुटाउनका लागि हकप्रद सेयर निष्कासनका अतिरिक्त दातृनिकायबाट थप २ खर्ब रुपैयाँ ऋण लिनका लागि प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।