गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : धावन मार्गको काम २ महिनाभित्र सकिने, एक वर्षभित्र सञ्चालनमा आउने

निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गर्ने गरी आयोजनाले काम अगाडि बढाइरहेको प्रमुख अधिकारीको भनाइ छ । अहिले २४सै घण्टा आयोजनाको काम भइरहेको छ । भ्रमण वर्ष २०२० अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको सो आयोजनाको हालसम्म ५८ प्रतिशत भौतिक संरचनाको काम सकिएको छ ।

काठमाडौं : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गको कालोपत्रे २ महिनाभित्रै सकिने भएको छ । चार तहमा कालोपत्रे हुने सो धावनमार्गको पहिलो चरणको काम केही दिनभित्रै सकिने आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गर्ने गरी आयोजनाले काम अगाडि बढाइरहेको प्रमुख अधिकारीको भनाइ छ । अहिले २४सै घण्टा आयोजनाको काम भइरहेको छ । भ्रमण वर्ष २०२० अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको सो आयोजनाको हालसम्म ६० प्रतिशत भौतिक संरचनाको काम सकिएको छ ।

यस्तै कन्ट्रोलर टावरको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । आठ तलाको बन्ने सो टावरको सातौं तलाको काम सम्पन्न भइसकेको छ भने केही महिनाभित्रै बाँकी काम पनि सकिने प्रमुख अधिकारीको भनाइ छ । अहिलेकै गतिमा काम भयो भने ६ महिनाभित्रै जहाज उडानका लागि योग्य हुने अनुमान गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गर्न निर्देशन दिएका छन् । भ्रमण वर्षअघि नै विमानस्थल सञ्चालन गरी विश्वका बुद्धिष्ट धर्मावलम्बीलाई सीधै लुम्बिनीमा जाने वातावरण मिलाउने रणनीतिका साथ काम अघि बढाउन मन्त्री अधिकारीले निर्देशन दिएका छन् ।

कम्बोडियाले गौतमबुद्ध विमानस्थलमा सीधा हवाई उडान गर्ने इच्छा व्यक्त गरेअनुसार मङ्सिर १३ गते हवाई सम्झौता भएको थियो । कम्बोडियामा सबैभन्दा बढी बौद्ध धर्मावलम्बीहरुको बसोबास रहेका कारण गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा जाने पर्यटकलाई लक्ष्य गरी हवाई उडान गर्ने तयारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो चरणमा साना र ठूला गरी ५ ओटा जहाज अट्ने क्षमता हुने छ ।

विमानस्थलमा तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइको ट्याक्सी वे बन्ने प्रमुख अधिकारीले जानकारी दिए । त्यसैगरी अन्तर्राष्ट्रियतर्फ चार ओटा र आन्तरिकतर्फ दुइटा पार्किङ वे निर्माण गर्ने गरी काम भइरहेको उनको भनाइ छ । यस्तै हाल सञ्चालनमा रहेको एक हजार पाँच सय मिटरको रनवेलाई ट्याक्सी वेमा परिणत गर्ने तयारी भइरहेको छ ।

विमानस्थलको निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २८ रुपैयाँमा गरिरहेको छ ।