लगानीकर्ता झुम्मिदा एनएमबी बैङ्कको सबैभन्दा बढी सेयर कारोबार, बजार घटेपनि झण्डै ८० करोडको किनबेच

बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएपछि लगानीकर्ता एनएमबीमा झुम्मिएका हुन् । बढी सेयर कारोबार भएपनि एनएमबीको सेयर मूल्य ५ रुपैयाँ घटेको छ । आइतबार बढेर ३९२ रुपैयाँ पुगेको थियो ।

काठमाडौं । सेयर बजार घटेका बेला एनएमबी बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । सोमबार बैङ्कको प्रतिकित्ता ३८७ मा ९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैङ्कको २ लाख ५५ हजार ७३७ कित्ता सेयर कारोबार भएको छ ।

बैङ्कले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएपछि लगानीकर्ता एनएमबीमा झुम्मिएका हुन् । बढी सेयर कारोबार भएपनि एनएमबीको सेयर मूल्य ५ रुपैयाँ घटेको छ । आइतबार बढेर ३९२ रुपैयाँ पुगेको थियो ।

बैङ्कले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै प्राइम कमर्शियल बैङ्कको संस्थापक सेयर धेरै कारोबार भएको छ । प्राइमको प्रतिकित्ता १९० रुपैयाँमा संस्थापक सेयर किनबेच भएको छ । प्राइमको ८ करोड २६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार बजार ६.४ अङ्कले घट्दा ७९ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सेयर बजार घटेर नेप्से परिसुचक ११९१ अङ्कमा झरेको छ । आइतबार बजार ३२ अङ्क बढेको थियो । प्रोफिट बुक गर्न थालेपछि यसको असर बजारमा परेको लगानीकर्ताको भनाइ छ ।

वित्त, उत्पादन र जीवन बिमाबाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । बजार घटेपनि हाथवे फाइनान्स र ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।