हालसम्म ५४१ मेगावाट क्षमताका १४ आयोजनामा १ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरिसकेको छ । ७ अर्ब ८९ करोड रुपैयाँ ऋण लगानीको प्रतिवद्धता जनाइसकेको छ । यस्तै ५५१ मेगावाट क्षमताका ३ आयोजनामा २६ करोड रुपैयाँ सेयर लगानी गरिसकेको छ भने ४ अर्ब ७१ करोड रुपैयाँ सेयर लगानीको प्रतिवद्धता जनाएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए ।
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी एन्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले १०९२ मेगावाट क्षमताका २१ आयोजनामा लगानी गरेको छ । जलविद्युत विकासमा लगानी जुटाउन सरकारले स्थापना गरेको एचआईडीसीएलले हालसम्म ऋण र सेयर गरी २ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको छ ।
हालसम्म ५४१ मेगावाट क्षमताका १४ आयोजनामा १ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरिसकेको छ । ७ अर्ब ८९ करोड रुपैयाँ ऋण लगानीको प्रतिबद्धता जनाइसकेको छ ।
यस्तै ५५१ मेगावाट क्षमताका ३ आयोजनामा २६ करोड रुपैयाँ सेयर लगानी गरिसकेको छ भने ४ अर्ब ७१ करोड रुपैयाँ सेयर लगानीको प्रतिवद्धता जनाएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । उनका अनुसार जलविद्युत प्रसारणलाइनलगायत अन्य पूर्वाधार लगायत ४ कम्पनीमा ३४ करोड रुपैयाँ लगानी गरेको छ । ४ आयोजनामा थप ९२ करोड रुपैयाँ लगानी गर्न बाँकी छ ।
यसैगरी कम्पनीले ३७.६ मेगावाटको कावेली ए जलविद्युत् आयोजनामा विश्व बैङ्कबाट ऋण लिएर ८३ लाख डलर अर्थात् झण्डै ८५ करोड रुपैयाँ लगानी गरिसकेको छ । यस्तै ४ करोड डलर अर्थात ४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको छ ।
एचआईडीसीएलले अझै प्रतिबद्धता जनाएको १३ अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी गर्न बाँकी रहेको उनले जानकारी दिए । कम्पनीले थप ऋण लगानी गर्नका लागि १०० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न लागेको बताए । एचआईडीसीएलले पुँजी बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको उनले सुनाए ।
कम्पनीले लिएको ५ वर्षे जलविद्युत विकास योजना कार्यान्वयनका लागि पुँजी जुटाउन काम सुरु गरिएको सीईओ पोखरेलको भनाइ छ । विदेशी दातृनिकाय र बैङ्कबाट ऋण लिने योजना एचआईडीसीएलको छ । एचआईडीसीएलले आउँदो ५ वर्षमा थप ३५०० मेगावाट क्षमताका आयोजना बनाउन लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षमा एचआईडीसीएलले ८० करोड ७५ लाख रूपैयाँ खुदनाफा गरेको छ । अघिल्ल्लो आर्थिक वर्ष र गत वर्षको नाफाबाट गरी सेयरधनीलाई १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको छ । यद्यपि वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । अघिल्लो वर्ष ४९ करोड रुपैयाँ नाफा गरेको थियो ।
कम्पनीले बैङ्कमा राखेको निक्षेपबाट मात्रै १ अर्ब ३१ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । १ करोड १६ लाख रुपैयाँ लगानीबाट लाभांश प्राप्त गरेको छ । बोनस सेयर र हकप्रद निष्कासनपछि एचआईडीसीएलको पुँजी २२ अर्ब रुपैयाँ पुग्ने पोखरेलले जानकारी दिए ।
कम्पनीमा सरकारको ८० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ । थप १० अर्ब रुपैयाँमध्ये ५ अर्ब रुपैयाँ सरकारले एचआईडीसीएललाई दिइसकेको छ । जसअनुसार अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिंचाइ मन्त्रालयले १ अर्ब, कानुन तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यलयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन् ।
यस्तै कर्मचारी सञ्चय कोषले १ अर्ब, नागरिक लगानी कोषले १ अर्ब र राष्ट्रिय बिमा संस्थाले १ अर्ब रुपैयाँ लगानी गरिसकेका छन् । बाँकी २ अर्ब रुपैयाँ हकप्रदबाट लगानी जुटाउन लागेको हो ।