एनएमबी बैंक, स्वावलम्बन र मिर्मिरे माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा मंगलबार तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार सेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई दिने बोनस सेयर र नगद लाभांशपछि ती कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

स्टकका अनुसार एनएमबी बैंकले १० प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्ताव गरेअनुसार नै प्रतिकित्ता ३५१ मा सेयरमूल्य समायोजन गरेको हो । बैंकको औसत आधारमूल्य ३७२ रुपैयाँ रहेको छ । यस्तै स्वावलम्बन विकास बैंकको २५ प्रतिशत बोनस सेयरपश्चात् प्रतिकित्ता ८८६ मा सेयर मूल्य समायोजन भएको छ । स्टकले सो बैंकको औसत आधार मूल्य १ हजार ८० कायम गरेको छ । मिर्मिरे लघुवित्तले पनि २४ प्रतिशत सेयर लाभांश दिने निर्णयसँगै सेयर मूल्य समायोजन गरेको छ । सो संस्थाको प्रतिकित्ता ९६९ रुपैयाँमा रहने गरी सेयर मूल्य समायोजन गरेको हो । सो लघुवित्तको औसत आधार मूल्य १ हजार ४४४ रुपैयाँ रहेको छ ।

नेपाल हाइड्रोडेभलपर लिमिटेडले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले सेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४/७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । सो आवमा कम्पनीले १ करोड ९७ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो । रासस