सबै समूह ओरालो लाग्दा नेप्सेसँगै कारोबार रकम घट्यो

साताको पहिलो दिन ३२ अङ्कभन्दा बढीले उक्लेको नेप्से सोमबार ६ अङ्कले घटेको थियो । यही क्रममा तेस्रो दिन मङ्गलबार पनि नेप्से ओरालो लागेको हो ।

काठमाडाैं : साताको तेस्रो दिन मङ्गलबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । साताको पहिलो दिन ३२ अङ्कभन्दा बढीले उक्लेको नेप्से सोमबार ६ अङ्कले घटेको थियो । यही क्रममा तेस्रो दिन मङ्गलबार पनि नेप्से ओरालो लागेको हो ।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेप्से साढे दुई घन्टामा ९ अङ्क घटेको थियो । त्यसपछि केही सुधारिँदै स्थिर अवस्थामा कायम रहँदै अन्तिम समयमा ३ अङ्क सुधार आएसँगै ५.७१ अङ्क घटेको हो । ११९२.६१ अङ्कबाट सुरु भएको नेप्से ५.७१ अङ्क घट्दै ११८६.०३ अङ्क कायम भएको छ ।

नेप्सेमा मङ्गलबार १ सय ६५ कम्पनीका ४ हजार ९ सय ४३ कारोबारबाट १२ लाख ४१ हजार सेयर खरिदबिक्री भई ४२ करोड रुपैयाँबराबरको कारोबार भएको छ, जुन सोमबारको कारोबार रकमभन्दा ३८ करोडले कम हो । सोमबार नेप्से ६.४ अङ्कले घट्दा ७९ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेप्से ओरालो लागेको दिन कारोबार भएका सबै समूह घटेका छन् । आज नेप्सेमा १० समूहको कारोबार भयो । जसमध्ये सबैभन्दा बढी जीवन बिमा २९.३६, निर्जीवन बिमा २४.३६, होटल २१.५ अङ्कले घटेका छन् ।