बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्ट २०१९ हुने

काठमाडौं । आगामी जनवरी १० देखि १२ तारिखसम्म लुम्बिनी र भैरहवामा बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्ट २०१९ हुने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि बौद्ध पर्यटकीय स्थल र सेवाहरुको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय विक्रेताबीच सेवा तथा व्यापार विनियमको अवसर सृजना गर्ने उद्धेश्यले पर्यटन व्यवसाय क्षेत्रको अग्रणी व्यावसायिक संस्थाहरुको सहभागितामा सो ट्राभलमार्टको आयोजना गर्न लागिएको हो ।

नेपाल पर्यटन बोर्ड मुख्य आयोजक रहने सो कार्यक्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा बुद्ध धर्मसँग सम्बन्धित नेपालका पर्यटकीय तथा धार्मिक गन्तब्य स्थलहरुको प्रचार प्रसार गरिने जनाएको छ ।

बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्ट २०१९ मूल आयोजक समितिका सदस्य सचिव अच्युत शर्मा गुरागाईले नेपालमा पहिलो पटक हुन लागेको उक्त सम्मेलनले पर्यटन व्यवसायी तथा नेपाली पर्यटन क्षेत्र तथा बौद्ध पर्यटन केन्द्रको रुपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

भ्रमण बर्ष २०२० नजिकिरहेको बेला सो बुद्धिष्ट इन्टरनेसनल ट्राभलमार्टले २० लाख पर्यटक भित्र्याउन ठूलो सहयोग पुग्ने उनको विश्वास रहेको छ । २ दिन सम्म चल्ने सो सम्मेलनको खर्च करिब २ करोड ८ लाख रुपैयाँ हुने अनुमान गरिएको जनाएको छ । ट्राभलमार्टमा विदेशी क्रेता ५० ,स्वदेशी विदेशी विक्रेता ५० सहभागिता रहने छ ।