यो साता ५ कम्पनीको ३ अर्ब ३७ करोडको सेयर सूचीकरण

नेपाल स्टक एक्सचेन्जमा यो साता ३ अर्ब ३७ करोड ३३ लाख ८० हजार ९ सय ९० रुपैयाँबराबरको ३ करोड ३७ लाख ३३ हजार ८ सय ९ दशमलव ९ कित्ता सेयर सूचीकृत भएका छन् । सातामा ४ दिन कारोबार खुलेको नेप्सेमा एक्सेल डेभलपमेन्ट बैङ्कको हकप्रद सेयर र ङादी गु्रप पावर, सानिमा बैङ्क, नबिल बैङ्क तथा टुरिज्म डेभलपमेन्ट बैङ्कको बोनस सेयर सूचीकृत भएका हुन् । नेप्सेमा सूचीकरण भएको ७ दिनमा ती सेयर दोस्रो बजारमा खरिद बिक्रीका लागि योग्य हुन्छन् । पुस २७ गते पृथ्वी जयन्तीका कारण सार्वजनिक विदा परेकाले सातामा ४ दिन मात्र कारोबार भएको हो ।

नेप्सेका अनुसार यो साता १ सय ७४ कम्पनीहरुको कारोबार भएको छ । साताभर १७ हजार ३ सय ९३ कारोबारबाट ४१ लाख ५ हजार २ सय १० कित्ता सेयरहरु खरिद बिक्री भई १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ३६.७९ प्रतिशतले कम हो । गत साता २७ हजार ५ सय ८३ कारोबारबाट ६४ लाख ७९ हजार ८ सय ९० कित्ता सेयर खरिद बिक्री भई २ अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । नेप्सेमा गत साता १ सय ७९ कम्पनीको कारोबार भएको थियो ।

तर, साताभर सेयर सूचक नेप्से भने पहिलो दिनको तुलनामा ८.४९ अङ्कले बढेर अन्तिम दिन १४४०.२९ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा २.२९ अङ्कले बढेर ३०३.६८ अङ्कमा पुगेको छ । यो साता सबैभन्दा बढी कारोबार सङ्ख्या १ हजार ४ सय ७५, सेयर कित्ता सङ्ख्या १ लाख ९९ हजार र सेयर कारोबार रकम २३ करोड ७६ लाख ५० हजार रुपैयाँबराबरको भएको छ । त्यसपछि बढी सेयर रकम कारोबार हुनेमा सानिमा माई हाईड्रोपावर कम्पनीको ९ करोड ३६ लाख, एभरेस्ट बैङ्कको ८ करोड १ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ६ करोड २६ लाख र नबिल बैङ्कको ४ करोड ८६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

सूचीकृत धितोपत्र सङ्ख्या

कम्पनीको नाम सूचिकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र सङ्ख्या
एक्सेल डेभलपमेन्ट बैङ्क हकप्रद १९२२८१२.५० कित्ता
ङादी ग्रुप पावर बोनस ४८६८६८ कित्ता
सानिमा बैङ्क बोनस ११०३६२१४.४ कित्ता
नबिल बैङ्क बोनस १८५७७१४० कित्ता
टुरिजम् डेभलपमेन्ट बैङ्क बोनस १७१०७७५ कित्ता