सहायक कम्पनी आफुले वा मुल कम्पनीले जारी गरेको सेयर कारोबार गर्न नपाउने भएका छन् । सहायक कम्पनीले वित्तीय स्रोत परिचालनका लागि निष्कासन गर्न सक्ने सुरक्षणपत्रमा मुख्य कम्पनीले लगानी गर्न नपाउने र सोको धितोमा कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ ।
काठमाडौं : सेयर दलाल (सेयर ब्रोकर) को व्यवसाय गर्न स्थापना गरिएका कम्पनीमा वाणिज्य बैङ्कको ५१ प्रतिशत स्वामित्व हुनुपर्ने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बुधबार निर्देशन जारी गरी सेयर दलालको कारोबार गर्न सहायक कम्पनी खोल्नु पर्ने र त्यसमा वाणिज्य बैङ्कको ५१ प्रतिशत स्वामित्व हुनुपर्ने स्पष्ट व्यवस्था गरेको हो ।
सहायक कम्पनीमा गरिएको कुल लगानी रकमलाई पुँजीकोषमा गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । सहायक कम्पनी स्थापना प्रयोजनका लागि वाणिज्य बैङ्कले सङ्गठित संस्थाको सेयर र डिवेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्तापुँजीको अधिकतम १० प्रतिशत सीमा छुट दिएको केन्द्रीय बैङ्कले जनाएको छ ।
वाणिज्य बैङ्कले सहायक कम्पनीको वित्तीय विवरण समेत एकीकृत रुपमा पेश गर्नुपर्ने छ । बैङ्क र सहायक कम्पनीबीचको कारोबारमा वित्तीय स्वार्थ हुने भएकाले दुई कम्पनीले सम्बन्धित पक्षबीच हुने कारोबार शीर्षकअनुसार पेश गर्नुपर्ने भएको छ ।
सहायक कम्पनी आफूले वा मूल कम्पनीले जारी गरेको सेयर कारोबार गर्न नपाउने भएका छन् । सहायक कम्पनीले वित्तीय स्रोत परिचालनका लागि निष्कासन गर्न सक्ने सुरक्षणपत्रमा मुख्य कम्पनीले लगानी गर्न नपाउने र सोको धितोमा कर्जा प्रवाह गर्न नपाउने व्यवस्था गरिएको छ ।
सहायक कम्पनीको नियमन नेपाल धितोपत्र बोर्डले गर्ने आवश्यकता अनुसार राष्ट्र बैङ्कले पनि गर्न सक्ने निर्देशनमा उल्लेख छ । आधादर्जनभन्दा बढी बैङ्कले सेयर दलाल व्यवसाय सुरु गर्न लागेका छन् । ती बैङ्कले सेयर दलालको काम सुरु गर्न सञ्चालक समितिमा प्रस्ताव लैजाँदै छन् ।
मेगा बैङ्क, सिटिजन्स बैङ्क, सानिमा बैङ्क, एनआईसी एसिया बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क र जनता बैङ्कले सेयर दलालको काम गर्ने लागेका हुन् । नेपाल धितोपत्र बोर्डले सेयर दलालको लाइसेन्स खुला गरेपछि बैङ्कहरुले धमाधम वार्षिक साधारणसभामा प्रस्ताव लैजान थालेका छन् । बोर्डले गत वर्ष नै सेयर दलालको काम खुला गरे पनि बैङ्कले भरखरै मात्र प्रक्रिया अघि बढाएका हुन् ।