६५ प्रतिशत सेयरधितो कर्जाले उचाल्यो बजार, ३० अङ्कको वृद्धि हुँदा लगानीकर्ता नेपाल बैङ्कमा झुम्मिए

सेयरधितो कर्जाको सीमा बढेपछि लगानीकर्तालाई बैङ्कबाट आउने मार्जिन कल समस्या तत्कालका लागि बन्द भएको छ । यस्तै वाणिज्य बैङ्कलाई ५१ प्रतिशत स्वामित्वमा सहायक कम्पनी गठन गरी सेयर दलालको काम गर्न खुला गरेपछि बजार बढ्न थप सहयोग गरेको हो । अल्पकालीन रुपमा सेयर बजारमा देखिएको समस्या समाधान भएको लगानीकर्ताको भनाइ छ ।

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सेयरधितो कर्जाको सीमा बढाएपछि बुधबार सेयरबजार उकालो लागेको छ । केन्द्रीय बैङ्कले सेयरधितो कर्जामा हाल कायम रहेको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत पुर्याएपछि लगानीकर्ता उत्साहित हुँदा सेयर बजार उकालो लागेको हो । बुधबार बजार ३० अङ्क बढेर १२१६ मा पुगेको छ ।

केन्द्रीय बैङ्कले प्राथमिक पुँजीको ४० प्रतिशतसम्म सेयर कर्जा प्रवाह गर्न पाउने भएका छन् । सूचीकृत एक कम्पनीमा बढीमा १० प्रतिशतभन्दा बढी कर्जा लगानी गर्न नपाउने व्यवस्था गरिएको छ । राष्ट्र बैङ्कको नयाँ निर्देशनले सेयर बजारमा लगानीकर्ताको विश्वास बढाएको छ ।

सेयरधितो कर्जाको सीमा बढेपछि लगानीकर्तालाई बैङ्कबाट आउने मार्जिन कल समस्या तत्कालका लागि बन्द भएको छ । यस्तै वाणिज्य बैङ्कलाई ५१ प्रतिशत स्वामित्वमा सहायक कम्पनी गठन गरी सेयर दलालको काम गर्न खुला गरेपछि बजार बढ्न थप सहयोग गरेको हो । अल्पकालीन रुपमा सेयर बजारमा देखिएको समस्या समाधान भएको लगानीकर्ताको भनाइ छ ।

बुधबार ६९ करोड २६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा सबै परिसूचकमा हरियाली देखिएको छ । बजार बढेपछि नेपाल बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेपाल बैङ्कको प्रतिकित्ता ३०९ रुपैयाँमा ४ करोड ३६ लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार १९ लाख कित्ता सेयर किनबेच भएको छ । बजार बढेका बेला नागरिक लगानी कोष, विशाल बजार कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, मल्टिपरर्पोज फाइनान्स कम्पनी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले बढी कमाएका छन् ।

सरकारले राष्ट्र बैङ्कका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित मुद्रा र पुँजी बजारमा देखिएका समस्याको समधान सुझाव दिन गठित समितिले गरेको सिफारिसका आधारमा केन्द्रीय बैङ्कले सेयरधितो कर्जाको सीमा बढाएको हो ।

राष्ट्र बैङ्कले सेयरधितो कर्जाको सीमा बढाए पनि बैङ्कसँग लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) भएकाले लगानीकर्ताले ऋण पाउने सम्भावना कम छ । बैङ्कले निक्षेपको ब्याज घटाए पनि कर्जाको अझसम्म नघटाएको र बैङ्कमा क्रेडिट क्रन्चको अवस्था कायम रहेकाले सीमा बढे पनि लगानी हुने सम्भावना कम रहेको लगानीकर्ताको भनाइ छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले लामो समयदेखि पुँजी बजारको बिकास र बिस्तारका लागि उठाएको माग सम्बोधन भएको बताएका छन् ।

सरकारद्वारा गठित समितिसमक्ष प्रस्तुत गरेका मागहरु बुधबार राष्ट्र बैङ्कले सम्बोधन गरेको राष्ट्र बैङ्क जस्तै अन्य निकायले पनि बाँकी मागलाई सम्बोधन गर्ने उनले विश्वास व्यत्त गरे ।