फेक रेस्क्युले अन्तर्राष्ट्रिय रुपमा बेइज्जत भयो : पर्यटनमन्त्री अधिकारी

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४० औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले पछिल्लो समय विदेशी पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गरेको पाइकाले अन्तर्राष्ट्रिय जगतमै बेइज्जत भएको बताएका हुन् ।

काठमाडौं : सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले फेक रेस्क्युले अन्तर्राष्ट्रिय रुपमा बेइज्जत भएको बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४० औं वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री अधिकारीले पछिल्लो समय विदेशी पर्यटकलाई बिरामी बनाएर फेक रेस्क्यु गरेको पाइकाले अन्तर्राष्ट्रिय जगतमै बेइज्जत भएको बताएका हुन् ।

पर्यटन क्षेत्रको मुख्य आधारका रुपमा रहेको ट्रेकिङ क्षेत्रमा देखिएको बदमासीलाई न्यूनीकरण गर्न टानले महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने पर्यटनमन्त्री अधिकारीको भनाइ छ । ‘तपाईंहरुले फेक काम नगर्नुस्,’ मन्त्री अधिकारीले भने, ‘कसैले त्यस्ता काम गरेको पाइएमा हामीलाई भन्नुस्, कार्वाही गर्न म तयार छु ।’ केही व्यवसायीको बदमासीका कारण पर्यटन क्षेत्रमा दीर्घकालीन असर पर्ने भन्दै त्यसतर्फ सचेत रहन मन्त्री अधिकारीले अनुरोध गरेका छन् ।

पर्यटकलाई बिरामी बनाएर उद्धार गरेको नाममा ठगी गरेको भन्दै पर्यटन मन्त्रालयले ८ ओटा ट्राभल तथा उद्धार संस्था हिमालय सोसल जर्नी, माउन्टेन रेस्क्यु, कैलाश चार्टर्ड, इजी हेली, इगल हेली, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यु र माउन्टेन हेलीलाई कार्वाहीका लागि सिफारिस गरेको थियो ।