सेयर बजार दोहरो अंकले घट्दा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार, यस्तो छ कारण

नेपाल लाइफको प्रतिकित्ता १ हजार १४१ रुपैयाँमा ३ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बढी लाभांश दिने अनुमानका आधारमा लगानीकर्ता नेपाल लाइफमा झुम्मिएका छन् ।

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दुई अंकले घटेको छ । आइतबार सेयर बजार १०.६२ अंकले घटेर नेप्से परिसुचक १ हजार २०४ अंकमा झरेको छ ।

नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जा सीमा बढाएर ६५ प्रतिशत पुर्याए पनि बजार बढ्न सकेको छैन । बजार घटेपछि कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४५ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । होटल, निर्जीवन बीमा र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य बढेपनि अन्य परिसुचकमा गिरावट आएको छ ।

नेपाल टेलिकमलगायत केही कम्पनीको नगद लाभांश दिने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मुल्य समायोजन गरेको हो । टेलिकमको मूल्य समायोजन भएपछि यसको असर बजारमा परेको लगानीकर्ताको भनाई छ । टेलिकमको मुल्य समायोजन भएपछि बजार पुंजीकरण घटेको छ । मूल्य समायोजनले गर्दा लगानीकर्ताले नगुमाए पनि बजार पुँजीकरण भने घटेको छ । मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लगानी कोषका लगानीकर्ताले कमाएका छन् ।

आइतबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर कारोबार भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार १४१ रुपैयाँमा ३ करोड ८४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बढी लाभांश दिने अनुमानका आधारमा लगानीकर्ता नेपाल लाइफमा झुम्मिएका छन् ।

नेपाल लाइफले हालसम्म लाभांश घोषणा गरेको छैन । गत आर्थिक वर्षमा ७० प्रतिशत लाभांश दिएको कम्पनीले यो वर्ष सो भन्दा बढी दिने अनुमान लगानीकर्ताको छ । बढी लाभांश पाउने आशामा लगानीकर्ताले हाल धमाधम लगानी गरिरहेका छन् ।
यस्तै नेपाल बैंकको प्रतिकित्ता ३१० रुपैयाँमा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । नागरिक लगानी कोषको २ हजार १९९ रुपैयाँमा २ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।