वाइडबडी खरिद प्रकरण : चार अर्ब ३१ करोड घोटाला गरेको ठहर

समितिका सदस्य राजन केसीको संयोजकत्वमा गठन भएको उपसमितिले सो रकम घोटाला भएको पाइएकोले निगमका महाप्रवन्धक सुगतरन्त कंसकारलाई कार्वाही गर्न सरकारलाई सिफारिससमेत गरेको छ ।

काठमाडौं : नेपाल वायुसेवा निगमले भित्र्याएको दुइटा वाइडवडी विमान खरिदमा चार अर्ब ३१ करोड रुपैयाँ घोटाला गरेको सार्वजनिक लेखा समितिको उपसमितिको ठहर छ । वाइडवडी जहाज खरिदको विषयमा लेखा समितिले छानविन गर्नका लागि उपसमिति बनाएको थियो ।

समितिका सदस्य राजन केसीको संयोजकत्वमा गठन भएको उपसमितिले सो रकम घोटाला भएको पाइएकोले निगमका महाप्रवन्धक सुगतरन्त कंसकारलाई कार्वाही गर्न सरकारलाई सिफारिससमेत गरेको छ । संसद सचिवालय  स्राेतका अनुसार विमान खरिदमा घोटाला देखिएकोले सम्बन्धित कर्मचारीहरुलाई तत्काल कार्वाहीको लागि सिफारिस गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप छानविनका लागि अनुरोध गरिएको छ ।

लेखा समितिमा पटक पटक विमान खरिदको विषयमा छलफल भएको थियो । पर्यटन मन्त्री रवीन्द्र अधिकारी, निगमका कार्यकारी अध्यक्ष मदन खरेल, महाप्रवन्धक कंसाकारलगायत मन्त्रालयका सचिवलाई समेत छलफलका लागि बोलाइएको थियो । समितिमा दिएको लिखित र मौखिक जवाफ चित्तबुझ्दो नभएको भन्दै मंसिर २६ गते १५ दिनमा काम सक्ने गरी गरिएको छानबिन उपसमिति बनाएको थियो ।

उपसमितिमा संयोजक केसीसहित नेकपाका कृष्णलाल महर्जन, प्रेम आले, धर्मशिला चापागाईँ, मीना सुब्बा, राजपाकी सांसद चन्दा चौधरी र सङ्घीय समाजवादी फोरमका प्रदीप यादव सदस्य छन् ।

उपसमितिले बनाएको प्रतिवेदन लेखा समितिलाई बुझाएको छैन । निगमले गत असार र साउनमा गरी २ अाेटा वाइडबडी जहाज भित्राएको थियो । नेपालको इतिहासमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक जहाज भित्र्याएको नेपालले जहाज खरिदमा घोटाला भएको भन्दै आलोचना भइरहेको छ ।