चालू वर्षमा लगानीकर्ताले करिब दुई खर्ब गुमाए

यसअघि गत आर्थिक वर्षको अन्तिम दिन २०७४ असार २९ मा बजार पुँजीकरण १८ खर्ब ५६ अर्ब ८२ करोड ९० लाख रुपैयाँबराबर थियो । यस आधारमा ६ महिनामा नेप्से परिसूचकमा १५१.६ अङ्कले गिरावट आउँदा लगानीकर्ताले ठूलो रकम गुमाउन पुगेका हुन् ।

चालू आर्थिक वर्षमा धितोपत्रका लगानीकर्ताले १ खर्ब ८५ अर्ब २१ करोड ६३ लाख रुपैयाँबराबरको रकम गुमाएका छन् । यो साताको पहिलो दिन अर्थात् चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिको अन्तिम दिन आज (आइतबार) पनि नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ९.१९ अङ्कले घट्दा त्यसको समग्र असर लगानीकर्ताको सम्पत्ति नाप्ने बजार पुँजीकरणमा परेको हो । बजार पुँजीकरण कम्पनीको सूचीकृत सेयरलाई त्यस दिनको मूल्यले गुणन गरेर निकालिन्छ ।

आइतबार बजार पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड २७ लाख रुपैयाँ पुगेको छ । यसअघि गत आर्थिक वर्षको अन्तिम दिन २०७४ असार २९ मा बजार पुँजीकरण १८ खर्ब ५६ अर्ब ८२ करोड ९० लाख रुपैयाँबराबर थियो । यस आधारमा ६ महिनामा नेप्से परिसूचकमा १५१.६ अङ्कले गिरावट आउँदा लगानीकर्ताले ठूलो रकम गुमाउन पुगेका हुन् । असार २९ मा नेप्से परिसूचक १५८२.७ अङ्क रहेकोमा पुस ३० गते १४३१.१ अङ्कमा झरेको छ ।

आइतबार नेप्सेमा वर्गीकृत १० उपसूचकमध्ये जलविद्युत् र अन्य समूहबाहेक सबै उपसूचक घटेपछि त्यसको समग्र असर परिसूचकमा परेको हो ।
आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ४ हजार २२ करोबाट ६ लाख ७० हजार ६ सय ४५ कित्ता सेयर खरिदबिक्री भई ३२ करोड ८३ लाख ३२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । आइतबार ६५ प्रतिशत लाभांश घोषणा गरेको फर्वार्ड लघुवित्त संस्थाको सबैभन्दा बढी रकमको सेयर किनबेच भएको छ । फर्वार्डको १ करोड ९३ लाख ८५ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।