क्यान विभाजनको विरोधमा कर्मचारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, क्यानका महानिर्देशक सञ्जीव गौतमलगायतको उपस्थितिमा अध्यक्ष गुप्ताले नाफामा गैरहेको क्यानलाई विभाजन गर्न नहुने बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई विभाजन गर्ने विषयलाई प्राधिकरणका कर्मचारीहरुले विरोध गरेका छन् ।

सोमबार प्राधिकरणको २१ आंै वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा तराई मधेश कर्मचारी युनियनका अध्यक्ष अनिल गुप्ताले क्यानलाई टुक्राउने प्रस्ताव गलत भएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, क्यानका महानिर्देशक सञ्जीव गौतमलगायतको उपस्थितिमा अध्यक्ष गुप्ताले नाफामा गैरहेको क्यानलाई विभाजन गर्न नहुने बताए ।

‘प्राधिकरणको विभाजनपछि नै ईयूले कालोसूचीबाट हटाउने होइन,’ उनले भने । विभाजनपछि आर्थिक भार थपिनुका साथै कर्मचारी समायोजनमा पनि समस्या निम्तिने उनले बताए । ‘हालको क्यानलाई नाफा कमाउन १३ वर्ष लाग्यो, फेरि विभाजनपछि सुरुबाट काम गर्दा आर्थिक अवस्था पनि मजबुत हुँदैन,’ उनले भने ।

प्राधिकरण विभाजन गर्ने गरी नियामक संस्थाका लागि ऐनको मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रालयमा पेस भएको छ । गत असोजमा प्राधिकरणलाई फुटाउने तयारीस्वरुप मन्त्रिपरिषद् बैठकले प्राधिकरण सञ्चालन नियमनसम्बन्धी नयाँ ऐन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

क्यान विभाजनको बहस भएपछि क्यानका कर्मचारी र उच्च पदाधिकारीहरुले विरोध गर्दै आइरहेका छन् ।

नेपाल नागरिक उडड्यन प्राधिकरण ऐन, २०५३ अनुसार तत्कालीन हवाई विभाग खारेज गरी सरकारले १९९८ डिसेम्बर ३१ मा प्राधिकरण स्थापना गरेको थियो ।