गौतमबुद्ध विमानस्थलको कार्गो भवन शिल्यान्यास, २ वर्षभित्र सकिने

विमानस्थललाई बेस बनाएर श्रीलङ्का, म्यानमार, चीन, कम्बोडियालगायतका देशहरुले विमान सञ्चालन गर्नका लागि निवेदन दिइरहेको मन्त्री अधिकारीले जानकारी दिए ।

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो भवनको शिल्यान्यास गरेका छन् ।

भवन शिलान्यास कार्यक्रममा मन्त्री अधिकारीले सम्झौताको २० महिनाभित्र निर्माण कार्य सम्पन्न गरे ठेकेदारलाई बोनस दिने आश्वासन दिएका छन् । मन्त्री अधिकारीले २०१९ को अगस्ट महिनासम्म विमानस्थल तयार भएपनि सेप्टेम्बर महिनामा सञ्चालनमा ल्याउने योजनाअनुसार निर्माण कार्य जारी रहेको बताए । यस विमानस्थललाई बेस बनाएर श्रीलङ्का, म्यानमार, चीन, कम्बोडियालगायतका देशहरुले विमान सञ्चालन गर्नका लागि निवेदन दिइरहेको मन्त्री अधिकारीले जानकारी दिए ।

९० करोड ३६ लाख ३४ हजार ६ सय रुपैयाँमा २ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा—लुम्बिनी—गजुरमुखी जेभीसँग सम्झौता भएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । आठ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्याधुनिक किसिमले निर्माण हुने जनाइएको छ ।

सरकारले सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको छ । २० लाख पर्यटक भित्र्याउने तयारीका साथ घोषणा गरिएको कार्यक्रमलाई सफल बनाउनका लागि सो विमानस्थल समयमै सञ्चालन गर्न पर्यटन मन्त्री अधिकारी लागिपरेका छन् ।