बुटवल पावरले ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको सेयर किन्यो

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हिमतालको नाममा रहेको ६ लाख १ हजार ३०० कित्ता सेयर सोमबार बुटवल पावरको नाममा कायम भएको स्टकलाई जानकारी गराएका छन् ।

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको १९.४ प्रतिशत सेयर खरीद गरेको छ ।

कम्पनीले हिमताल हाइड्रोपावरको नाममा रहेको सेयर खरीद गरेको र सोको जानकारी आज नेपाल स्टक एक्सचेञ्जलाई गराएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले हिमतालको नाममा रहेको ६ लाख १ हजार ३०० कित्ता सेयर सोमबार बुटवल पावरको नाममा कायम भएको स्टकलाई जानकारी गराएका छन् ।

हिमताल हाइड्रो र भारतीय कम्पनीका नाममा रहेको सो आयोजनाको शेयर गत वैशाख २३ गते नै बिक्री भएकोसमेत श्रेष्ठले स्टकलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ ।
आयोजना लिने र काम नगरीकन सेयर स्वामित्व मात्रै बिक्री गर्दै आएको भन्दै संसद्को अर्थ समितिमा समेत सो विषयले प्रवेश पाएको छ ।आयोजनाको काम अगाडि बढाउनुभन्दा सेयर स्वामित्व हस्तान्तरण भएको विषयमा अर्थ समितिले अर्थ मन्त्रालय, लगानी बोर्डलगायतका निकायसँग यसअघि नै छलफल गरेको थियो ।

बाँकी स्वामित्व चीनको एससीजीआई इन्टरनेसनल हाइडो डेभलपमेन्ट कम्पनीको छ । बीपीसी र एसजीआईले ३ अर्ब रुपैयाँमा सो आयोजना खरिद गरेका हुन् । बीपीसीले एससीजीआईका साझेदारीमा थप १ हजार मेगावाट जलविद्युत आयोजना बनाउने भएको छ । यसका लागि चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याउने सहमति भएको छ ।