उपसमितिले प्रतिवेदन बुझायो,मन्त्रीदेखि कंसाकारसम्मलाई कारबाही सिफारिस

असार र साउनमा भित्र्याइएका दुई ओटा वाइडबडी विमान खरिदमा घोटाला भएको आशङ्कामा संसद्का दुई ओटा समितिले छानबिन गरिरहेका छन् ।

काठमाडौं : वाइडबडी विमान खरिदमा अनियमियता भएको भन्दै लेखासमितिले छानबिनका लागि बनाएको उपसमितिले मङ्गलबार प्रतिवेदन बुझाएको छ । उपसमितिका संयोजक राजन केसीले समितिका संयोजक भरतकुमार शाहलाई बुझाएको प्रतिवेदनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, तत्कालीन पर्यटनमन्त्रीहरु जितेन्द्रनारायण देव र जीवनकुमार शाहीलाई कानुनी प्रक्रियाअन्तर्गत कारबाही गर्न निर्देशन दिइएको छ ।

तत्कालीन सचिवसहित निगमका महाप्रबन्धकलाई निलम्बन गर्न पनि सरकारलाई निर्देशन दिइएको छ । प्रतिवेदनमा तत्कालीन सचिव प्रेमकुमार राई, शङ्करप्रसाद अधिकारी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी भ्रष्टाचार अभियोगमा कारबाही थाल्न निर्देशन दिइएको हो । उपसमितिले बुझाएको प्रतिवदेनले ४ अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको ठहर गरको हो ।

असार र साउनमा भित्र्याइएका दुई ओटा वाइडबडी विमान खरिदमा घोटाला भएको आशङ्कामा संसद्का दुई ओटा समितिले छानबिन गरिरहेका छन् । त्यसमध्ये सार्वजनिक लेखासमितिको उपसमितिले प्रतिवेदन तयार पारिसकेको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भने प्रतिवेदन बुझाएको छैन ।