बुधबारसम्म सेयर किन्नेले मात्र लाभांश पाउने भएपछि लगानीकर्ताको चिलिमेमा भीड लागेको हो । चिलिमेले गत आर्थिक वर्ष ०७४/ ७५ मा ९३ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट चिलिमेले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
काठमाडौं : लगानीकर्ता लाभांशमा लोभिएपछि बुधबार चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ६७५ मा २ करोड २८ लाख ७६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
बुधबारसम्म सेयर किन्नेले मात्र लाभांश पाउने भएपछि लगानीकर्ताको चिलिमेमा भीड लागेको हो । चिलिमेले गत आर्थिक वर्ष ०७४/७५ मा ९३ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट चिलिमेले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसअनुसार ५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिले गरेको छ । यही महिनाको अन्तिममा कम्पनीको साधारणसभाले लाभांश दिने प्रस्ताव पारित गर्दै छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि प्रतिकित्ता १ हजार ९३ रुपैयाँमा १ करोड ४१ लाख ९७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको सेयर मूल्य भने निरन्तर घट्दै गएको छ ।
बुधबार सेयर बजार ५.४ अंकले घटेर समग्र नेप्से परिसूचक १ हजार १८० अंकमा सीमित भएको छ । बुधबार २५ करोड ७६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । मंगलबार २२ करोड रुपैयाँ हारहारीमा सेयर किनबेच भएको थियो । व्यापार र लघुवित्तबाहेक सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।
बुधबार बजार घटे पनि कालिका माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र युनाइट इन्स्योरेन्स कम्पनी लिमिटेडको लगानीकर्ताले कमाएका छन् । अरुण काबेली इनर्जी र हाथवे फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।