बुटिक एयरपोर्टको थालनी, हटे प्रस्थानकक्षका विज्ञापन सामग्री

अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षमा राखिएका विज्ञापनसहितका बोर्ड तथा फ्लेक्स प्रिन्टलाई बिहीबारदेखि हटाइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने तयारीअनुसार अन्तर्राष्ट्रिय विमानस्थलभित्रका विज्ञापन सामग्री हटाइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानकक्षमा राखिएका विज्ञापनसहितका बोर्ड तथा फ्लेक्स प्रिन्टलाई बिहीबारदेखि हटाइएको हो । विमानस्थलमा जथाभावी विज्ञापन राख्दा विमानस्थलकै सौन्दर्यता गुमेको र फोहोरसमेत देखिएको गुनासो बढेपछि विमानस्थल कार्यालयले सुरुमा विमानस्थलको प्रस्थान कक्षका विज्ञापन सामग्री हटाएको हो ।

‘विमानस्थलभित्र सुधारका कामहरु भइरहेको छ, हामी बुटिक एयरपोर्ट बनाउका लागि तयारी पनि थालेका छौं,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने, ‘विमानस्थलभित्रको प्रस्थानकक्षमा राखिएका विज्ञापनसामग्रीलाई बिहीबारदेखि पूर्णरुपमा हटाइएको छ ।’ विगत लामोसमयदेखि राखिएका विज्ञापनसामग्रीले विमानस्थलभित्र राम्रो नदेखिएकाले एयरपोर्ट सुधार गर्ने क्रममै यसलाई हटाइएको उनले बताए ।

‘विज्ञापनदातासँग गरिएको सम्झौताअनुसार नै विज्ञापनसामग्री हटाइए पनि उनीहरुलाई फिर्ता गर्नुपर्ने रकम फिर्ता हुन्छ,’ क्षेत्रीले भने । बैशाखमा एयरपोर्टलाई बुटिक अवधारणामा लैजाने योजनाअनुसार नै अहिलेदेखि नै एयरपोर्टमा साना साना कुरामा सुधार गर्दै लगिएको उनले भने ।

विमानस्थलभित्र नयाँ कार्पेट, सोफा, एसी राख्नुका साथै पार्किङस्थललाई समेत सारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई बुटिक एयरपोर्ट बनाउने अवधारणा सार्वजनिक गरेका थिए ।