मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले उपसमितिले बनाएको प्रतिवेदन समितिलाई नबुझाई सार्वजनिक गरेकोप्रति आपत्ति जनाएका छन् ।
काठमाडौं : सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले उपसमितिकै प्रतिवेदनका आधारमा कसैलाई कारबाही नगर्ने स्पष्ट पारेका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै प्रवक्ता बास्कोटाले उपसमितिले बनाएको प्रतिवेदन समितिलाई नबुझाई सार्वजनिक गरेकोप्रति आपत्ति जनाएका छन् ।
उनले सार्वजनिक लेखा समितिको निर्णयपछि सरकारले आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए । समितिको निर्णयपछि आवश्यक परेमा सरकारले समिति बनाएर वाइडबडीको विषयमा छानबिन गर्ने र दोषी देखिएका कसैलाई पनि नछोड्ने बताएका छन् ।
सार्वजनिक लेखा समितिले बनाएको उपसमितिले नेपाल वायुसेवा निगमले गत असार र साउनमा भित्र्याएको दुई ओटा वाइडबडी जहाजमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्व पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र देव, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा लगायतलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।