बिहिबार बसेको मन्त्री परिषदको बैठकले ४५ दिन भित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी आयोग गठन गरिएको संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले क्यापिटललाई जानकारी दिए ।
काठमाडौं । सरकारले वाइडबडी खरिदको विषयमा छानविन गर्नका लागि पूर्वमुख्य न्यायाधीश गोविन्द पराजुलीको अध्यक्षयता उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । बिहिबार बसेको मन्त्री परिषदको बैठकले ४५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउने गरी पराजुलीको संयोजकत्वमा आयोग गठन गरिएको संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले क्यापिटललाई जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले पूर्व मुख्य न्यायाधीश पराजुली सहित सदस्यहरुमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकाउन्टेन्ट मदन शर्मालाई आयोगमा राखिएको छ । मन्त्रिपरिषद बैठकले जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम आयोग गठन गरिएको जनाएको छ ।
नेपाल वायुसेवा निगमले गत असार र साउनमा भित्राएको २ वटा वाइड बडी विमान ३३०–२०० का विषयमा पछिल्लो समय धेरै विवादहरु आएको र सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्व पर्यटनमन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र देव, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, शंकरप्रसाद अधिकारी र प्रेमकुमार राईलगायतलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।