एप्पलको नाफा घटेपछि सेयर बजारमा भारी गिरावट, लगानीकर्ताले एकै दिन ७५ अर्ब डलर गुमाए

वाल स्ट्रिटमा बिहीवार एप्पलको सेयर मूल्य १० प्रतिशतले खस्कियो । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन्।

एजेन्सी । प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पल इंकले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने जानकारी गराएलगत्तै उसको सेयर मूल्यमा भारी गिरावट आएको छ । सेयर मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ ।

वाल स्ट्रिटमा बिहीवार एप्पलको सेयर मूल्य १० प्रतिशतले खस्कियो । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन् ।

सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो ।

अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ ।

वर्षभर मध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ । तर यसपालि त्यस्तो हुन सकेन। एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ ।

पहिले पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने बितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे। कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गर्थ्यो।

बीबीसीका प्रविधि सम्वाददाता डेव ली भन्छन्, अचेल मोबाइल फोनका राम्रा गुणस्तरका कारण हामी नयाँ मोडल किनिहाल्न उत्सुक हुँदैनौँ। त्यसमाथि आइफोनका नयाँ संस्करणको मूल्यै नै १ हजार डलर पुगिसक्यो।

एप्पल अब चौथो ठूलो कम्पनी

चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको चेतावनी लगत्तै त्यसको असर अमेरिकी सेयर बजारमा परेको हो । कम्पनीहरूको सेयर सूचकाङ्क नाज्डाक ३.१ प्रतिशतले घट्यो ।

केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक सेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो । तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके। अब एप्पल भन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन् ।

तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो । त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ । अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा निकै प्रगति गरेको छ। एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ। त्यसैले डेव ली भन्छन्, यसो भन्नु गलत हुनेछ कि एप्पल मुस्किलमा परेको छ । स्रोतः बीबीसी