एनसीसी बैङ्कको हकप्रद सेयर बाँडफाँट, नागरिक लगानी कोषले ३० लाख कित्तासम्म पाउने

बैङ्कले ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद लिलामीको सूचना निकालेकोमा लगानी कोषले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक हकप्रद सेयर खरिदको प्रस्ताव गरेको थियो ।

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सबैभन्दा बढी हकप्रद सेयर नागरिक लगानी कोषले पाउने भएको छ । कोषले ३० लाख कित्ता संस्थापक हकप्रद सेयर पाउने भएको छ ।

बैङ्कले ७९ लाख १० हजार ९९३ कित्ता हकप्रद लिलामीको सूचना निकालेकोमा लगानी कोषले प्रतिकित्ता १०१ रुपैयाँमा संस्थापक हकप्रद सेयर खरिदको प्रस्ताव गरेको थियो । कम दर प्रस्ताव गरेकाले लगानी कोषले कम पाउने अवस्था आएको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिजयलाल श्रेष्ठले बताए । उनले २ अर्ब २० करोड रुपैयाँ बराबरको आवेदन परेको जानकारी दिए । कोषले प्रतिकित्ता १०१ रुपैयाँमा सबै संस्थापक सेयर उठाउन प्रस्ताव गरेको थियो ।

प्रतिकित्ता २१८ रुपैयाँसम्ममा हकप्रद सेयर खरिदका लागि आवेदन परेकोमा औसत २०१ रुपैयाँसम्म आवेदन दिनेले पाउने भएका छन् । । संस्थापक लगानीकर्ता एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ र प्रधानको ६५ लाख १६ हजार ७९३ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता हकप्रद सेयर लिलाम गरिएको हो ।

चुक्ता पुँजी बढाएर न्यूनतम ८ अर्ब रुपैयाँ पुर्याउन बैङ्कले ५० प्रतिशत अर्थात २ अर्ब ३३ करोड रुपैयाँ बराबरको २ करोड ३३ कित्ता हकप्रद निष्कासन गरेको थियो । हकप्रद निष्कासन गत भदौ ५ देखि असोज २२ गतेसम्म तोकिएको थियो । निर्धारित समयमा पनि बिक्री नभएपछि लिलामी गर्न लागेको सनराइजले जानकारी दिएको छ ।

हकप्रद निष्कासनपछि पनि बैङ्कको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको छैन । बाँकी पुँजी बोनस सेयर दिएर पुर्याउने बैङ्कको योजना छ ।