घलेम्दी हाइड्रोको आईपीओमा मागभन्दा बढी आवेदन, निष्कासन सोमबार अन्तिम दिन

कम्पनीले पुस १९ गतेदेखि १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ निष्कासन गर्दा मागभन्दा बढी आवेदन परेपछि सोमबार बैंकिङ समयपछि निष्कासन बन्द हुने बिक्री प्रवन्धक भिवोर क्यापिटल लिमिटेडले जनाएको छ ।

काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि निजी क्षेत्रबाट प्रवद्र्धित घलेम्दी हाइड्रो लिमिटेडको साधारण सेयर आईपीओ निष्कासन सोमबारसम्म हुने भएको छ । कम्पनीले पुस १९ गतेदेखि १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३ हजार ७७० कित्ता आईपीओ निष्कासन गर्दा मागभन्दा बढी आवेदन परेपछि सोमबार बैंकिङ समयपछि निष्कासन बन्द हुने बिक्री प्रवन्धक भिवोर क्यापिटल लिमिटेडले जनाएको छ ।

आईपीओ निष्कासन बन्द छिटोमा पुस २३ गतेलाई तोकिएको थियो । आईपीओमा न्यूनतम ५० देखि अधिकतम १० हजारसम्म कित्तासम्म आवेदन दिन पाइने छ ।

५५ करोड रुपैयाँ चुक्तापुँजीमध्ये २० प्रतिशतले हुन आउने ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता छ । यस्तै आयोजना प्रभावित म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासिन्दालाई निष्कासन गरिएको मध्ये बिक्री नभएको ४ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको ४ लाख ५५ हजार ७७० कित्ता आईपीओसमेत थप गरी बिक्री गर्न लागिएको हो ।

कुल निष्कासनमध्ये २२ हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५५ हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ । वित्तीय अवस्था कमजोर भएकाले घलेम्दीले इक्रा नेपाल लिमिटेडबाट ५ ग्रेड पाएको छ । घलेम्दीले ५ मेगावाटको आयोजना सञ्चालन गरिरहेको छ ।

आयोजना बनाउन १ अर्ब १५ करोड रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत २३ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष ०७७/०७८ सम्म कम्पनीको नेटवर्थ ऋणात्मक अर्थात ९६ रुपैयाँ ५२ पैसा पुग्ने सार्वजनिक गरिएको प्रक्षेपणले देखाएको छ ।