काठमाडौं । बोनस सेयर दिने हल्ला चलेपछि लगानीकर्ता नेपाल बैंकमा झुम्मिएका छन् । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १८ प्रतिशतसम्म बोनस सेयर दिने हल्ला चलेपछि लगानीकर्ता लोभिएका हुन् ।
सोमबार बैंकको प्रतिकित्ता ३०८ रुपैयाँमा ८ करोड ५९ लाख २७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको २ लाख ८० हजार ६२४ कित्ता सेयर किनबेच भएको छ । बैंकले लामो समयदेखि सेयरधनीलाई लाभांश दिएको छैन । गत आर्थिक वर्षको दोस्रो त्रैमाशदेखि बैंकले सबै दायित्व भुत्तान गरेको थियो । दोस्रो त्रैमाशबाट बैकले गरेको नाफाबाट लाभांश बाँड्न सक्ने अवस्थामा पुगेको छ ।
यस्तै नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको पनि प्रतिकित्ता १ करोड ६१ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तेस्रो स्थानमा नागरिक लगानी कोष रहेको छ । कोषको प्रतिकित्ता २ हजार २८८ रुपैयाँमा १ करोड ५० लाख ९१ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ । सोमबार बजार ६.६७ अंकले बढेको छ । लगातर घटिरहेको बजार सोमबार बढेपछि लगानीकर्तालाई केही राहत मिलेको छ ।
बैंकिङ होटल, विकास बैंक, बीमा, जलविद्युतलगायतको सेयर मूल्य बढेको छ । यस्तै उत्पादनमुलक क्षेत्रको सेयर मूल्य घटेको छ । सोमबार ३० करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हाथवे फाइनान्स लिमिटेड र सिनर्जी डेभलपमेन्ट पावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।