पर्यटक आगमनमा नयाँ इतिहास, सन् २०१८ मा ११ लाख ७३ हजारले गरे नेपाल भ्रमण

अध्यागमन विभागको तथ्याङ्कअनुसार वर्षभरि नै पर्यटक आगमनमा देखिएको उत्साहजनक वृद्धिका कारण सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो । हवाई मार्गबाट जम्मा ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेका छन् ।

काठमाडौं : भ्रमण वर्ष नजिकिएसँगै पर्यटक आगमनमा नयाँ इतिहास कायम भएको छ । नेपाली इतिहासमै पहिलो पटक ११ लाख ७३ हजार ७२ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार वर्षभरि नै पर्यटक आगमनमा देखिएको उत्साहजनक वृद्धिका कारण सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतले बढी हो । हवाई मार्गबाट जम्मा ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ अन्तर्राष्ट्रिय पर्यटक नेपाल प्रवेश गरेका छन् ।

हवाई मार्ग भएर नेपाल आउने भारतीय पर्यटकको सङ्ख्यामा गत वर्षकोे तुलनामा २५.१ प्रतिशतले वृद्धि भई कुल आगमन २ लाख ४ सय ८३ पुगेको छ । त्यस्तै श्रीलङ्काबाट आउने पर्यटकको सङ्ख्यामा २०१७ को तुलनामा ५५.७ प्रतिशत वृद्धि भएको छ भने सार्क मुलुकहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा २६.४ प्रतिशतले वृद्धि भई कुल आगमन सङ्ख्या ३ लाख १ हजार ९ सय ६३ पुगेको छ ।

त्यस्तै, नेपालका लागि दोस्रो प्रमुख स्रोतबजार चीनबाट सन् २०१८ मा १ लाख ५३ हजार ६ सय २ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन २०१७ को तुलनामा ४६.८ प्रतिशतले वृद्धि हो । यसैगरी थाई, दक्षिण कोरियाली र जापानी पर्यटकहरुको सङ्ख्यामा पनि २०१७ को तुलनामा क्रमशः ३६, ८.३ र ८.९ प्रतिशतले वृद्धि भएको छ ।

युरोपेली पर्यटकको आगमनमा पनि उल्लेखनीय वृद्धि देखिएको छ । संयुक्त अधिराज्य, जर्मनी र फ्रान्सबाट नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या क्रमशः १५.६, २३.१ र २१.१ प्रतिशतले वृद्धि भई ६३,०८६, ३६,८३३ र ३१,६५३ पुगेको छ । सन् २०१८ मा नेपाल भ्रमण गर्ने अमेरिकी पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भई ९१,७८५ पुगेको छ । त्यस्तै, अस्ट्रेलियाबाट आउने पर्यकटकको सङ्ख्या १५.१ प्रतिशतले बढेर ३८,४०८ पुगेको छ ।

सस्ंकृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा पर्यटक आगमनमा भएको वृद्धिले सबैलाई उत्साहित बनाएको र सन् २०१८ का अन्तिम दुई महिनामा नै करिब ४७ प्रतिशतको वृद्धि भएकाले भ्रमण वर्ष २०२० को लक्ष्य प्राप्तिका लागि बलियो आधार तयार भएको बताए । साथै, थप सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिए । सरकार र निजी क्षेत्रको संयुक्त प्रयासको फलस्वरुप यो सफलता हासिल भएको र अब गुणात्मकरुपमा पनि पर्यटनको विकास गर्न लागिपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीका अनुसार नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाकालदेखि नै अङ्गीकार गरेको साझेदारीको अवधारणा र सबैको साझा प्रयासले विगत तीन वर्षयता पर्यटन आगमनमा देखिएको लगातारको वृद्धिले सम्पूर्ण पर्यटन सरोकारवालाहरुमा उत्साह र आत्मविश्वासको सञ्चार गरेको छ । ‘सरकारी निकाय, निजी पर्यटन व्यवसायी र सञ्चार माध्यमहरुबीचको सहकार्यलाई नै नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने मूलमन्त्रका रुपमा लिन सकिन्छ,’ जाशीले भने ।