अत्याधुनिक डेस्क स्थापना गरी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी भइरहेको विभागका महानिर्देशक ईश्वराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
काठमाडौं : अध्यागमन विभागले नेपाल आउने र नेपालबाट बाहिर जाने स्वदेशी तथा विदेशीको बायोमेट्रिक विवरण राख्ने तयारी गरेको छ । विभागले बुधबार पत्रकार सम्मेलन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अध्यागमन डेस्कलाई स्तरोन्नति गर्दै आउने वर्षदेखि बायोमेट्रिक विवरण राख्ने उपकरण जडान गर्न लागिएको बताएको छ ।
अत्याधुनिक डेस्क स्थापना गरी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी भइरहेको विभागका महानिर्देशक ईश्वरराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
करिब २४ करोड रुपैयाँको लागतमा अध्यागमन डेस्कदेखि हाल प्रयोग गरिँदै आएको सफ्टवेयरलाई विस्थापित गर्दै नयाँ सफ्टवेयर प्रयोगमा ल्याउने महानिर्देशक पौडेलले बताए ।
‘हाल प्रयोग भइरहेको ईसफ्टवेयरलाई विस्थापित गरी नेपाली पोट नामक सफ्टवेयर प्रयोगमा ल्याउने छौं,’ महानिर्देशक पौडेलले भने, ‘त्यसका लागि हाम्रा ३ जना इन्जिनियरले अहिले बनाउँदै हुनुहुन्छ ।’ त्यसैगरी विभागले प्रदान गर्दै आएको भिसा स्टिकरको पनि स्तरोन्नति गर्ने तयारी भइरहेको महानिर्देशक पौडेलले जानकारी दिए ।
हाल प्रदान गरिँदै आएको हस्तलिखित स्टिकरलाई विस्थापित गर्दै सूचना प्रणालीसहितको अन्तर्राष्ट्रियस्तरको भिसा स्टिकर प्रयोगमा ल्याउने तयारी भइरहेको उनले बताए । हाल प्रदान गरिने भिसा स्टिकरका कारण विभिन्न समस्या आउने गरेको भन्दै विभागले त्यसको स्तरोन्नति गर्ने तयारीमा जुटेको महानिर्देशक पौडेलले बताए ।
विमानस्थलमा सेटिङ हटेको छैन, घटेको छ
मानव तस्करले विमानस्थलमा सेटिङ गरी नेपालीलाई खाडी मुलुकमा पठाउने कार्य पूर्ण बन्द नभएको भन्दै पहिलाको तुलानामा केही घटेको महानिर्देशक पौडेलले बताए ।
‘अध्यागमनका कर्मचारीको मिलेमतोमा विगतमा हुने गरेको मानव बेचबिखनको सेटिङ रोक्न हामीले कठोर कदम चाल्दै आएका छौं, सेटिङ हटेको छैन, घटेको पक्कै छ,’ पौडेलले पत्रकार सम्मेलमा भने ।
उनले विमानस्थल सेटिङमा संलग्न भएको भेटिएपछि गएको साउनयता मात्र १० जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान थालेको समेत जानकारी दिए ।
‘विगतमा केकसो भयो, त्यतातिर नजाऊँ । अब अध्यागमनलाई सुधार गर्दै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने छौं, त्यहीअनुसार काम भइरहेको छ, विभागको नियमभन्दा बाहिर जाने जोकोहीलाई पनि कारवाही हुन्छ,’ उनले भने ।
८४ जना विदेशीलाई देश निकाला
एक वर्षको अवधिमा ८४ जना विदेशीलाई देश निकाला गरेको विभागले जनाएको छ ।
पर्यटक भिसामा नेपाल आएर विभिन्न अराजक गतिविधिदेखि धार्मिक प्रचारमा लागेको देखिएपछि त्यस्ता विदेशीलाई पक्राउ गरी देश निकाला गरिएको विभागका महानिर्देशक पौडेलले बताए ।
त्यसरी देश निकाला गरिएकालाई उनीहरुको गल्ती हेरेर जरिबानासमेत गरिएको बताइएको छ ।
मलेसिया बन्दले मानव तस्करी बढ्यो
मलेसिया रोजगार नखुलेका कारण मानव तस्करी बढेको विभागको अध्ययनले देखाएको छ ।
‘मलेसिया बन्द हुँदा त्यसको असर अन्ततिर परेको देखियो,’ विभागका महानिर्देशक पौडेलले भने, ‘मलेसिया नखुल्दा जसरी पनि जानेहरु जान्छन् नै । त्यसले मानव तस्कर र दलाल सलबलाएका छन् ।’