बुटवलका ब्रोकर कार्यालयमा नयाँ लगानीकर्ता बढ्दै, दैनिक १ करोडको सेयर किनबेच

खस्यौली । प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा सेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् । सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका हुन् । बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलस्थित केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन सङ्कायका विद्यार्थीलगायत सेयर बजारमा चासो राख्ने देखिएका छन् । उनीहरुले एकल रुपमा २० हजारदेखि १ लाख रुपैयाँसम्म सेयरमा लगानी गरेका छन् ।

“विद्यार्थीले सिक्ने चरणमा न्यूनतम २० देखि १०० कित्तासम्म लिएका छन्” दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश भण्डारीले भने। उनले बजारबारे केही सिक्ने चरणमा रहेको र केही बुझेर पनि बजारप्रति आकर्षित हुने गरेको बताए।

एशियन सेक्युरिटिज प्रालिका बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारमा नयाँ पुस्ताको लगानी सन्तोषजनक भएको उल्लेख गर्दै विभिन्न कलेजका विद्यार्थीको आर्कषण बढेको जानकारी दिए । एकल रुपमा छात्रले लगानी गरेको पूँजी बजारमा आम्दानीको स्रोत बढाउन उनीहरुले लगानी गरेको अनुमान गर्दै उहाँले बजारको मनस्थिति कमजोर भएकाले केही हतोत्साहित हुने गरेको बताए। सेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् ।

रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारीले सेयर बजारमा प्रवेश गर्नेका लागि अहिले सबैभन्दा अनुकूल समय भएकोमा जोड दिँदै बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताए । यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ । यस समयअर्थात् पुस, माघ र फागुन सेयर बजारका लागि ‘अफ सिजन’ मानिन्छ ।

अध्यक्ष तिवारीले आगामी चैतदेखि पूँजी बजार ‘बुलिस’ अवस्थामा जाने जिकिर गर्दै नयाँ लगानीकर्तालाई सानो सानो आकारमा लगानी बढाउन सुझाव दिन्छन् । बुटवलका विभिन्न ब्रोकर कार्यालयमा अहिले कूल दुई हजार बढी नयाँ लगानीकर्ता भएको अनुमान छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक १ करोड रुपैयाँ बढीको सेयर कारोवार हुने गरेको बताइएको छ ।

तालीममा नयाँ लगानीको रुचि बढ्दै

बुटवल र आसपासका क्षेत्रमा सेयरको तालीम लिन थालेका छन् । यसबाट पूँजी बजारमा सेयर बजारको सचेतनाले बजार बढ्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । पूँजी बजारमा स्नातक तहको व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, प्राध्यापक, महिलालगायतका नयाँ लगानीकर्ताले सेयर बजारसम्बन्धी तालीम गरेर लगानी बढाएको सफल नेपाल इन्भेण्टमेण्ट फोरम रुपन्देहीले जनाएको छ ।