नेपाल र जापानबीच हवाई सम्झौता पुनरावलोकनमा सहमति, वायुसेवा निगमले काठमाडौँ–टोकियो उडान गर्ने

हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् ।

काठमाडौ । करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो ।

हवाई सेवा सम्झौतामा पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्न मार्ग प्रशस्त भएको छ । अब दुवै देशका राजधानी एकआपासमा प्रत्यक्ष हवाई सेवाबाट जोडिने भएका छन् ।

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण भएको छ । दुई देशबीच पारस्परिक हित र चासोका विषयमा सहयोग र साझेदारी प्रवद्र्धनका निम्ति उक्त संयन्त्रले मार्गनिर्देश गर्नेछ ।

नेपाली श्रमिक जापानमा रोजगारीमा पठाउनेसम्बन्धी श्रम समझदारी शीघ्र सम्पन्न गर्न पनि दुवै मुलुक सहमत भएका छन् । परामर्श संयन्त्रले नेपाल–जापान सम्बन्धका सबै पक्ष र आयाममा बृहत् छलफल गर्नुका साथै सहायताका नयाँ क्षेत्र पहिल्याउनेछ । साथै आपसी हित र स्वार्थका साझा मामिला तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका लागि सेतुको भूमिका निर्वाह गर्नेछ ।

मन्त्रिस्तरीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सहमतिपत्रमा दुवै देशका परराष्ट्रमन्त्रीले हस्ताक्षरपछि आदानप्रदान गरे भने मन्त्रीद्वयको उपस्थितिमा हवाईसेवा सम्झौता पुनरावलोकनसम्बन्धी सहमतिपत्रमा परराष्ट्रसचिव शङ्करदास वैरागी र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गरेका थिए ।

मन्त्री कोनोले काठमाडौं र टोकियो चाँडोभन्दा चाँडो हवाई सम्पर्कबाट जोडिने विश्वास व्यक्त गर्दै त्यसले जापानी पर्यटक नेपाल भित्र्याउन तथा व्यापार–वाणिज्य प्रवद्र्धनमा टेवा पुग्ने बताए।

नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन प्रत्यक्ष हवाई सेवाबाट मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गरे ।