सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आउन नसकेकाले धितोपत्र बजार तत्काल सकारात्मक नहुने लगानीकर्ताको बुझाइ छ । वित्तीय प्रणालीमा देखिएको समस्याले ब्याजदर झनै बढ्ने अवस्था रहेको भन्दै लगानीकर्ता तत्काल बजार बढ्ने सम्भावना कम देख्छन् ।
सेयर बजार परिसूचक घट्ने क्रम बुधबार पनि कायम रह्यो । सेयर बजार निरन्तर घट्दो क्रममा रह पनि लगानीकर्ताको बजार बढ्ने अपेक्षा भने कायमै छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सेयर बजार बढ्ने अपेक्षा राखेका सेयर लगानीकर्ता नतिजापछि भने निरासजस्तै छन् । पछिल्लो समय निरन्तर घटेको बजारमा चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सकारात्मक आउने र बजारमा सुधार आउने अपेक्षामा लगानीकर्ता छन् ।
मङ्गलबार १७ अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बुधबार ७ अङ्कले घटेको छ । बुधबार बजार सूचक १३ अङ्कसम्मले घटेर १३९९ सम्म झरेको थियो । तर कारोबारको अन्तिम समयमा लघुवित्त कम्पनीको सेयर मूल्यमा आएको सुधारले बजार घट्ने क्रममा केही कमी आएको हो ।
बैङ्कहरु चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय विवरण पनि उत्साहजनक नहुने बताउँदै गर्दा सेयर बजार बढ्ने लगानीकर्ताको आधार पनि त्यही बनेको हो । बैङ्करहरु नै उत्साहित नभएको अवस्थामा सेयर लगानीकर्ताले गरेको अपेक्षा पूरा हुने सम्भावना पनि कमै देखिन्छ ।
तत्कालका लागि सेयर बजार परिसूचक घटेको भए पनि सूचीकृत कम्पनीको दोस्रो त्रैमासको वित्तीय विवरण आएसँगै बजार सकारात्मक हुने इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पैडेलले बताए । ‘बैङ्क वित्तीय संस्थाको कार्यसम्पादन सकारात्मक रहेको हुनाले दोस्रो त्रैमासको रिपोर्टले सकारात्मक हुने सम्भावना छ,’ उनले भने ।
सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आउन नसकेकाले धितोपत्र बजार तत्काल सकारात्मक नहुने लगानीकर्ताको बुझाइ छ । वित्तीय प्रणालीमा देखिएको समस्याले ब्याजदर झनै बढ्ने अवस्था रहेको भन्दै लगानीकर्ता तत्काल बजार बढ्ने सम्भावना कम देख्छन् ।
पछिल्लो समयमा वित्तीय क्षेत्रमा कर्जायोग्य रकमको अभाव बढ्दै गएको छ र वित्तीय संस्थाले कर्जा लगानी नियन्त्रण गर्न थालेका छन् । बैङ्कहरुले निक्षेप नबढाएसम्म कर्जा दिन सक्ने अवस्था छैन । निक्षेप तान्नका लागि बढाएको ब्याजदरले सेयर बजार ओरालो लागिरहेको छ । सेयर बजार र वित्तीय प्रणालीको ब्याजदरको सम्बन्ध जहिले पनि उल्टो हुने गर्छ । केही साताअघि मात्र १३०० को लाइनमा झरेको नेप्से पुनः फर्केर १४५६ सम्म पुगेको थियो । तर त्यो उचाइमा पनि बजार सूचक टिक्न सकेन । पुनः घट्न थालेको सेयर बजार करिब एक साताको अवधिमा १३९९ मा नै झरेको हो ।
बुधबार नेप्सेको कारोबार रकममा पनि सुधार आउन सकेन । मङ्गलबारको तुलनामा २ करोड रुपैयाँ बढेर ४० करोड पुगेको छ । घट्दो बजारमा कारोबार रकम घट्नु भनेको लगानीकर्ताको मनोबल तत्काल सेयर खरिद गर्नेतर्फ नभएको स्पष्ट हुन्छ । बुधबारको कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा आधाले कम हो ।
नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक कारोबार सुरु भएदेखि बन्द हुँदासम्म नकारात्मक नै रह्यो । कारोबार सुरु हुँदा १४१३.७१ अङ्कमा रहेको नेप्से ७.१९ अङ्कले घटेर बन्द हुँदा १४०६.५२ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.५५ अङ्कले घटेको छ ।
बुधबार नेप्सेका कारोबार भएका अधिकांश समूहगत सूचक पनि घटेका छन् । माइक्रोफाइनान्स समूहमा सामान्य अङ्कले बढेको भए पनि अन्य सबै उपसमूह घटेका हुन । बुधबार नेप्सेमा १५८ कम्पनीको ४ हजार ४ सय ६० कारोबारबाट ४० करोड ४८ लाख रुपैयाँबराबरको ९ लाख ७९ हजार १ सय ९६ कित्ता सेयर किनबेच भएको छ ।