पेट्रोल र डिजेलको मूल्य बढ्यो

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढे पछि सरकारले बुधबार पेट्रोल र डिजेलको मूल्य बढाएको छ । पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ८१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले क्यापिटल नेपाललाई जानकारी दिए । बढेको मूल्य बुधबार राती १२ बजे बाट कार्यान्वयनमा आउने छ ।

मूल्य बढाए पनि निगमलाई मासिक ३८ करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत छ । ग्यास सिलिन्डर १३ सय ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ र अन्तर्राष्ट्रिय प्रति केएलको ९ सय डलर रहेको आयल निगमले जनाएको छ ।