कालिञ्चोक केबलकारमा ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्ग र स्थानीयलाई २५ प्रतिशत छुट

दोलखाको कालिञ्चोक गाउँपालिका १ कालिञ्चोकमा केही साता अघिदेखि पूर्णरुपमा सञ्चालनमा आएको केबलकारमा यात्रा गर्ने यात्रुहरुलाई मध्यनजर गरी छुटको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

काठमाडौं : कालिञ्चोक केबलकारमा ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्ग र स्थानीयलाई २५ प्रतिशत छुट दिइने घोषणा गरिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका १ कालिञ्चोकमा केही साता अघिदेखि पूर्णरुपमा सञ्चालनमा आएको केबलकारमा यात्रा गर्ने यात्रुहरुलाई मध्यनजर गरी छुटको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

कालिञ्चोक दर्शन लिमिटेडको चौथो साधारण सभाले कालिञ्चोक माताको दर्शनका लागि आउने ज्येष्ठ नागरिक, अपाङ्ग, विद्यार्थी र कालिञ्चोक गाउँपालिकाका स्थानीयहरुलाई २५ प्रतिशत छुट दिने घोषणा गरेको प्रमुख कार्यकारी अधिकृत शिवाकोटीको भनाइ छ । हाल केबलकारकाे भाडा ५ सय रूपैयाँ छ ।

कालिञ्चोकको कुरीबाट मन्दिरसम्म जाने बाटो उकालो रहेको र लेक लाग्ने समस्या भएका कारण धेरै वृद्धवृद्धाहरुलाई समस्या भइरहेका बेला केबलकारले उनीहरुलाई लक्ष्य गरी छुटको व्यवस्था गरिएको बताए । ‘हामीले नाफाभन्दा पनि सेवामा बढी जोड दिइरहेका छौं,’ प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने, केबलकार सञ्चालनमा आएपछि धेरै ज्येष्ठ नागरिकले कालिञ्चोक माताको दर्शन गर्ने अवसर पाएका छन् ।’

कालिञ्चोक दर्शन लिमिटेडद्वारा सञ्चालित सो केबलकार अत्याधुनिक स्विस प्रविधिद्वारा निर्माण गरिएको छ । कालिञ्चोक दर्शन लिमिटेडको चुक्ता सेयर पुँजी २९ करोड र बैङ्क कर्जा २२ करोड रुपैयाँ छ । कम्पनीको चौथो वार्षिक साधारण सभाले प्रत्येक सेयरधनीलाई १० ओटा पासको व्यवस्था गरेको जनाएको छ ।