४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासिन्दालाई बिक्री गर्न लागिएको कम्पनीका प्रवन्ध सञ्चालक मोहन डाँगीले बताए ।उनका अनुसार सर्वसाधारणलाई २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ ।
काठमाडौ । निजी लगानीमा स्थापना भएको तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड बराबरको १२ लाख कित्ता साधारण आइपिओ निष्कासन गर्न लागेको हो । कुल पुँजीको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासिन्दालाई बिक्री गर्न लागिएको कम्पनीका प्रवन्ध सञ्चालक मोहन डाँगीले बताए ।
उनका अनुसार सर्वसाधारणलाई २० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ । पहिला आयोजना प्रभावित स्थानीयबासिन्दा र त्यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने उनले जानकारी दिए । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर बिक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ पुग्ने डाँगीले जानकारी दिए ।
तेह्रथुम पावरले जिल्लाको साविक मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविस हाल मेन्छेयायेम गाउँपालिकामा ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङगा खोला साना जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाबाट यो आर्थिक वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजनामा माछापुच्छे् बैंकको अगुवाइमा नेपाल बङ्गलादेश बैंक, जनता बैंकले क्रमशः ४० करोड, ३० र ३० करोड रुपैयाँ लगानी रहेको छ ।
यस्तै कम्पनीको शनिबार राजधानीमा सम्पन्न पहिलो वार्षिक साधारणसभाले सञ्चालक समितिको संरचनामा परिवर्तन गरेर ७ मा झारेको छ । यसअघि १० जना सञ्चालक रहेका थिए । सञ्चालक समितिमा भूपतिलाल श्रेष्ठ, मोहनकुमार डाँगी, भवानीप्रसाद खापुङ, लक्ष्मण तिवारी, स्थानीय र सर्वसाधरण तर्फबाट यादवबहादुर खापुङ, शिवनाथ खापुङ र १ जना स्वतन्त्र महिला विशेषज्ञ मनोनित गर्ने गरि ७ सदस्यीय सञ्चालक समितिमा चयन भएका छन् ।