सेयर मूल्य एक दिनमा बढीमा १० प्रतिशत बढ्न नपाइने व्यवस्था रहेकोमा ५० प्रतिशत बढेको छ । एक दिनमा तामाकोसीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ मात्र बढ्नु पर्ने थियो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्राविधिक लापरवाहीले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर मूल्य बढेर प्रतिकित्ता ३३६ रुपैयाँमा कारोबार भएको देखाएको छ ।
सेयर मूल्य एक दिनमा बढीमा १० प्रतिशतभन्दा बढ्न नपाइने व्यवस्था रहेकोमा ५० प्रतिशत बढेको छ । एक दिनमा तामाकोसीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ मात्र बढ्नु पर्ने थियो । तर नेप्सेको लापरवाहीले प्रतिकित्ता २२४ रुपैयाँबाट बढेर ३३६ रुपैयाँ पुगेको देखाएको छ । प्राविधिक कारणले तामाकोसीको सेयर कारोबार बढी देखिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
उनले यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गरे । “हिजोको प्यारामिटरको आधारमा कारोबार देखाएको हो, यसलाई करेक्सन गर्ने छौं” उनले भने । नेप्सेले कारोबार खुलेको २० मिनेटभित्र तामाकोसीको प्रतिकित्ता ३३६ रुपैयाँमा ४७ लाख ८२ हजार ५४० रुपैयाँ बराबरको १४ हजार २९५ कित्ता सेयर किनबेच भएको देखाएको छ ।
आइतबारदेखि तामाकोसीको सेयर कारोबार सुरु भएपछि बेच्नेभन्दा किन्नेको भीड लागेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) तामाकोसीको अधिकतम कारोबार सीमा प्रतिकित्ता २२४ रुपैयाँ तोकेको थियो । आइतबारको तुलनामा सोमबार ११२ रुपैयाँ बढेको छ । कारोबारको अवस्था हेर्दा तामाकोसीको सेयर मूल्य अझ बढ्ने देखिएको छ । नेप्सेमा तामाकोसीको १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत भएका छन् ।
४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजना निर्माणाधीन अवस्थामा छ । आगामी वर्ष कात्तिकदेखि आयोजनाबाट बिजुली उत्पादन हुने छ । आयोजनाको निर्माण काम ९७ प्रतिशत पूरा भएको छ ।