बक्यौता रकम तिर्न हिमालय एयरलाइन्सलाई १ महिना म्याद

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बक्यौता रकम भुक्तानीका लागि समय माग गरेका कारण एक महिनाको अवधि दिइएको बताएका छन् । हिमालय एयरलाइन्सले गत शुक्रबार ५० लाख रुपैयाँ बुझाएको थियो ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हिमालय एयरलाइन्सलाई बक्यौता रकम भुक्तानीका लागि एक महिना म्याद दिएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बक्यौता रकम भुक्तानीका लागि समय माग गरेका कारण एक महिनाको अवधि दिइएको बताएका छन् । हिमालय एयरलाइन्सले गत शुक्रबार ५० लाख रुपैयाँ बुझाएको थियो । हिमालयले विमानस्थल सेवा शुल्कवापतको साढे १३ करोड रुपैयाँ तिर्नुपर्ने छ ।

पछिल्लो समय महाप्रबन्धक क्षेत्रीले बक्यौता रकम उठाउनका लागि विशेष चासो देखाउँदै आएका छन् । एक महिनामा बक्यौता रकम नतिरेमा हिमालय एयरलाइन्सको जहाज ग्राउन्डेड गर्ने चेतावती दिँदै आएका छन् । लामो समयदेखि बक्यौता रकम नतिर्ने एयरलाइन्सहरुका कारण समस्या भएको भन्दै कडाइ गर्न लागिएको बताएका छन् ।

यसैबीच बक्यौता रकम नतिरेको भन्दै एक महिनादेखि सौर्य एयरलाइन्स ग्राउन्डेड भएको छ । विमानस्थलले पटक पटक ताकेता गर्दा पनि रकम तिर्न अटेर गरेको भन्दै ग्राउन्डेड गरेको जनाएको छ । सौर्यले विमानस्थल सेवा शुल्कवापत ४ करोड रुपैयाँ तिर्नुपर्ने छ ।