सोमबार ४ बैंकले गरे साधारणसभा, एसबीआई र हिमालयनको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । सोमबार एकै दिन ४ वाणिज्य बैङ्कले साधारण सभा सम्पन्न गरेका छन् । सोमबार नेपाल एसबीआई, हिमालयन, सिटिजन्स र मेगा बैङ्कले साधारण सभा सम्पन्न गरेका हुन् ।

एसबिआई बैङ्ले लगानीकर्तालाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाबाट पारित भएको छ । बैंकले गत वर्षको नाफाबाट हालको चुक्ता पुँजीको ५ प्रतिशत बोनस तथा १०.७९ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

५ प्रतिशत बोनस वितरण पछि बैङ्कको चुक्ता पुँजी ८ अर्ब ४४ करोड रुपैयाँ नाघ्ने छ । बैङ्कले गत आर्थिक वर्ष २ अर्ब रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी बैङ्कको सञ्चालक समितिले सञ्चालक पदमा अर्जुनकुमार गौतमलाई नियुक्त गरेको छ ।

हिमालयन बैङ्कले २६औं वार्षिक साधारण सभाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर तथा १०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयरपछि वितरणपछि चुक्ता पूँजी ८ अर्ब ५२ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । सभाले साधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा विजयबहादुर श्रेष्ठ निर्वाचित गरेको छ ।

सिटिजन्स बैङ्क इन्टरनेसनलले १२औं वार्षिक साधारण सभाबाट ५.१२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट आफ्ना सेयरधनीलाई ३.६ प्रतिशतका दरले २९ करोड १४ लाख रुपयाँ बराबरको बोनस तथा करसहित १.६ प्रतिशतका दरले १३ करोड ५५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

मेगा बैङ्कले ८औं साधारण सभाबाट ७.८५ प्रतिशत लाभांश पारित गरेको छ । सभाले लगानीकर्तालाई कायम चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर तथा ६.८५ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब २८ करोड रुपैयाँ रहेको छ । १ प्रतिशत बोनस वितरणपछि बैङ्कको चुक्ता पुँजी १० अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ७१ करोड रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।