३ वर्षअघि माथिल्लो तामाकोसीको सेयर लिएका सेयरधनीलाई डिम्याट खुल्यो, ‘लकिङ पिरियड’ सकिएकाले कारोबार गर्न पाउने

कम्पनीले ३ वर्षअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका लागि पहिलो चरणमा निष्कासन गरेको २ करोड ५४ लाख १६ हजार कित्ता आईपीओलाई डीम्याट गर्न निर्देशन दिएको हो ।

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सञ्चयकर्ता सेयरधनीलाई साधारण सेयर (आईपीओ)को अभौतिकीकरण (डीम्याट) गर्न निर्देशन दिएको छ । कम्पनीले ३ वर्षअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका लागि पहिलो चरणमा निष्कासन गरेको २ करोड ५४ लाख १६ हजार कित्ता आईपीओलाई डीम्याट गर्न निर्देशन दिएको हो ।

पहिलो चरणमा सेयर निष्कासन गर्दा भौतिक रुपमा सेयर लिएका सञ्चयकर्ता, कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई आयोजनाले डीम्याट गर्न कम्पनीले सूचना जारी गरेको हो ।

त्यसैगरी सेयर किनेको सुरुका तीन वर्षलाई जलविद्युत् कम्पनीले लकिङ पिरियड तोकेको थियो । लकिङ पिरियड सकिएको र सञ्चयकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्न पाउने भएपछि डीम्याट गर्न भनेको जनाइएको छ ।

कम्पनीले सेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले नेपाल स्टक एक्चेन्जमा १० करोड ५९ लाख कित्ता प्राथमिक सेयर सूचीकृत गरी कारोबार सुरु गरिसकेको छ ।